Logo

प्रमुख समाचार

किन बढ्दैछ सुनको मुल्य ?



मंगलबार ६८ हजार रुपैयामा कारोबार भएको सुन प्रतितोला बुधवार १५ सय रुपैयाँले बढेको हो । साताको चौथो दिन बुधबार ६९ हजार ५ सयमा कारोबार भईरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला ६९ हजार २ सयमा कारोबार भईरहेको छ ।

आइतबार ६६ हजार ३ सयमा कारोबार भएको सुन सोमबार एकैदिन १५ सयले बढेर ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । पछिल्ला केही दिन यता सुनको भाउले एकपछि अर्को गर्दै नयाँ रेकर्ड कायम गरिरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवार चाँदीको मूल्य प्रतितोला ८१० रुपैयाँ तोकेको छ ।

मूल्य बढेसँगै सुनको बजारमा कारोवार निकै कम मात्रामा हुने गरेको व्यवसायीहरुले बताएका छन् । सुनको मूल्य बढेपछि सुन किन्ने भन्दा बेच्नेहरु बढी आएको व्यवसायीहरुले बताएका छन् । बजारमा सुनको माग ७५ प्रतिशतले घटेको छ।

यि कारणले बढ्दैछ सुनको मुल्य

१.अन्तर्राष्ट्रिय तनाव

नेपाल सुनचाँदी व्यवसायी महसङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्य भन्छन्स् : अमेरिका(चीन व्यापार युद्धकै कारण अहिले सेयर र डलरका लगानीकर्ता सुनतर्फ आकर्षित भएको देखिन्छ । त्यसमा इरानसँग अमेरिका र ब्रिटेनको तनाव, एवम् कोरिया क्षेत्रमा देखिएको तनावले पनि थप असर पारेको देखिन्छ।

महासङ्घका अनुसार सोमवार नेपालमा सुनको मूल्य तोक्दा अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔँस एक हजार चार सय ५३ डलर रहेकोमा मङ्गलवार बढेर एक हजार चार सय ५९ डलर पुगेको छ। अन्तर्राष्ट्रिय बजारमा आइतवारको तुलनामा मङ्गलवारसम्ममा एक औँस सुनको मूल्य १८ डलर बढिसकेको छ।

महासङ्घले हरेक दिन सवा १० बजे सुनको भाउ तोक्ने गरेको छ। नेपालमा भारतीय सुन बजार खुलेपछि भाउ तोक्ने चलन रहेको महासङ्घले जनाएको छ।

२. ट्रम्पको अर्थनीति

अर्थशास्त्रीका अनुसार चीन र अमेरिकाको व्यापार युद्धसँगै अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाको अर्थतन्त्रका लागि लिएको नीतिले पनि सुनको भाउ बढाउन भूमिका खेलेको देखिन्छ। अर्थशास्त्री चन्द्रमणि अधिकारी भन्छन्, अमेरिकाले आफ्नो अर्थतन्त्र तताउने नीति लिएको छ। त्यसैका लागि लामो समयपछि त्यहाँको केन्द्रीय ब्याङ्कले ब्याजदर पनि घटाएको छ। त्यसको असर सुनमा देखिएको हो।

उनका अनुसार अमेरिकी केन्द्रीय ब्याङ्कको नीतिहरूलाई युरोपेली सङ्घले पनि नजिकबाट हेर्ने र त्यसैका आधारमा नीतिहरू बनाउने गर्छ। अमेरिकाले लिएको नीतिका कारण इन्धनको भाउ र सेयर बजारमा अस्थिरता बढेको अधिकारीको तर्क छ। त्यो अस्थिरताबाट बच्न लगानीकर्ताले सुरक्षित क्षेत्रका रूपमा सुनलाई रोजेको देखिन्छ,उनले भने ।

३. कश्मीर तनाव

शाक्यका अनुसार डलरको भाउ बढ्ने र भारतीय रुपैयाँ कमजोर हुने गर्दा समेत नेपालमा भने सुनको भाउ बढ्ने गरेको बताउँछन् । भारतले कश्मीरलाई विशेषाधिकार प्रदान गर्ने संविधानको एउटा धारा हटाउने निर्णय गरेपछि त्यसका कारण त्यहाँको सेयर बजारमा नकारात्मक असर परेको र भारतीय रुपैयाँ कमजोर बनेको शाक्यले बताए ।

उनले थपे : त्यसको असर पनि सुनको मूल्यमा देखिएको छ ।अर्कोतर्फ, शाक्यका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनतर्फ लगानीकर्ता आकर्षित भए पनि नेपालमा चाहिँ भाउ बढेकाले सुन किन्नेहरू घटेका छन् । उनले भने अहिले सुन किन्न आउनेहरू खासै छैन। बिक्री गर्न चाहनेहरू भने धेरै छन् ।

प्रकाशित मिति : २२ श्रावण २०७६, बुधबार ०७:३२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।