बुढेसकालले छोइसकेको छ । हेर्दा गहुँगोरी देखिन्छिन् । तर, हसिलो अनुहार भएकी धनगढी उपमहानगरपालिका–३ की बिष्णा पौडेलले स्वास्थ्य स्वयमसेविका भएको दुई दशक पुग्न थाल्यो ।
स्वयंसेविकाहरुको काम हेर्दा सामान्य जस्तो लागेपनि उनीहरुका आफ्नै पीडा हुने गरेको विष्णाले सुनाइन् । ‘चौबिस घण्टे ड्युटि भन्दा हुन्छ हाम्रो । रातिको १२ बजे पनि कसैले सहयोगका लागि बोलाए भने नकार्न सकिदैन्,’ विष्णाले भनिन्, ‘विगतको सरकारले त जहिल्ये उपेक्षा गर्यो । अहिलेको सरकारले पनि स्वयमसेविकाका लागि केहि गर्न सकेको छैन् ।’
सुरुवातबाटै निशुल्क रुपमा स्वास्थ्य सेवा र सुझाव दिँदै आएकी विष्णा अहिले पनि निशुल्क रुपमा नै सेवा दिइरहेको बताउँछिन् । घरको काम छोडेर स्वास्थ्य स्वयमसेविकाको कर्तब्य निर्वाह गर्दा पनि सरकारले नबुझेको उनको भनाई छ । ‘उपमहानगरपालिकाबाट गाउँ टोलमा राम्रो स्वास्थ्य सेवा र सुझाव देउ है भनेर अह्राउँछन् । तर, कहिल्यै तपाईका समस्या के हुन भनेर सोधिएन्’ विष्णाले न्यास्रो मान्दै भनिन्, ‘उहिले रहरले यो बाटो रोजियो । अहिले निल्नु न ओकल्नु भएको छ ।’
गाउँलेको सेवा गर्न पाउँदा मन प्रफुल्ल हुने गरेको भएपनि निशुल्क रुपमा गरिने कामले घरका सदस्यको चित्त बुझाउन साह्रै समस्या हुने गरेको उनी बताउँछिन् । ‘निन्द्रामा पनि कोही गर्भवती भएको खबर लिएर आएभने उठेर जानुपर्छ । कसैले चियापानी खानु भनेर केही पैसा दिन्छन् । कसैको त गाडी भाडा पनि आफैले हालिदिनुपर्छ’ उनले भनिन् ।
‘हामीलाई वडा रजिस्ट्रर दिइएको छ । वडामा भएका बालबालिका र महिलाको स्वास्थ्य अवस्थाबारे महिनामहिनामा रिपोर्ट बुझाउनुपर्छ’ यसोदाले भनिन्, ‘ड्युटी त डाक्टरको भन्दा पनि चर्को छ । तर, पारिश्रमिक शून्यबराबर’ उनीहरुकाे गुनासा ।
सामान्य मजदुरी गर्ने व्यक्तिले पनि राम्रो आम्दानी गरिरहेको भन्दै उनी दिनरात नभनेर खट्ने स्वयमसेविकाको अवस्था सरकारले नबुझेको बताउँछिन् । ‘भिटामिन ख्वाउन वडामा गएका बेला विहानदेखि साँझसम्म हामी टोलमा बसिरहन्छौं । पानी खाने ? भनेर समेत सोध्दैनन्’ विष्णाले भनिन् । । स्थानीय तहले खाजा खर्च उप्लब्ध गराएको पाइँदैन । स्वास्थ्य संस्था र पालिकाले न्युन मात्रामा भत्ता दिने गरेको उनको भनाई छ ।

उनीहरुले बिहिबार कैलालीको धनगढीमा १६औं राष्ट्रिय महिला स्वयंसेविका दिवस २०७६’ मनाएका छन् । तर दिवसमा सहभागीहरुले आफ्नै पीडा र गुनासाहरु सुनाए । दिवस धनगढी उपमहागरपालिकाको आयोजनमा भएको थियो ।
स्थानीय तहले स्वयमसेविकाहरुलाई पारिश्रमिक उपलब्ध गराउनुपर्ने बताउँछिन् । १६ वर्षदेखि धनगढी उपमहानगरपालिका–५ की अरुणा श्रेष्ठ पनि निःशुल्क रुपमा स्वयमसेविकाको भूमिका निभाइरहेकी छिन् । पोशाक भत्ता वापत वार्षिक ७ हजार रुपैयाँबाहेक उनले सुको पाउँदैनन् । ‘वर्षको एकपटक दिइने ७ हजारले केही पुग्दैन् । लगाउने पोशाक किन्नमै त्यो पैसा ठिक्क हुन्छ’ अरुणाले भनिन्, ‘आमा समूहमा सबै जनाको छलफल भएपछि म स्वयमसेविका भएकी थिएँ । तर, निशुल्क रुपमा काम गर्नुपर्छ भन्ने जानकारी थिएन ।’
समूहका सबै जनाको आग्रहलाई टार्न नसकेपछि अरुणा स्वयमसेविका बनेकी थिइन् । ‘स्थानीय तहले स्वयमसेविकालाई साइकल, मोवाइल उपलब्ध गराउने भन्थे, अहिलेसम्म केहि दिएका छैनन्’ अरुणाले भनिन्, ‘महिनैपिच्छे प्रगति विवरण बुझाउन स्वास्थ्य संस्था जानुपर्छ, त्यो बेला भाडा आफैंले तिर्नुपर्छ ।’ कहिले काही त उनीहरुलाई श्रमशोषण भइरहेको महसुस समेत हुने गरेको छ ।
घरको काम थाती राखेर गर्भवती महिलालाई परामर्श दिनु, बालबालिकालाई भिटामिनहरु खुवाउनु उनको दैनिकी नै बनेको छ । आमा बुहारी र श्रीमतीभन्दा बढी स्वयमसेविकाको कर्तव्य निर्वाह गर्दै आइरहेकीे उनले बताइन् । अहिले पनि गाउँका गर्भवती महिला अरुणासँग सल्लाह लिन आउँछन् ।
‘स्वयमसेविकाको पनि परिवार हुन्छ । उसलाई पनि पारिश्रमिकको आवश्यकता हुन्छ भनेर सरकारले आजसम्म महसुस गर्न सकेन’ अरुणा भन्छिन् ।
सहयोग र सल्लाह सुझावको अपेक्षा बोकेर आएकाहरुलाई निराश बनाउन नसक्ने उनेको स्वभाव छ । तर वर्षौंदेखि यसरी लागिरहँदा पनि सरकारको ध्यान स्वयमसेविकाका समस्याप्रति नगएको देखेर उनीजस्तै थुप्रै जना दुःखी छन् । ‘स्वयमसेविकाको पनि परिवार हुन्छ । उसलाई पनि पारिश्रमिकको आवश्यकता हुन्छ भनेर सरकारले आजसम्म महसुस गर्न सकेन’ अरुणाले भनिन् ।
धनगढी उपमहानगरपालिका–५ कै यसोदा भण्डारी पनि स्वयसेविका भएको लामो समय भइसक्यो । उनको पीडा पनि विष्णा र अरुणाको भन्दा फरक छैन् । ०५९ सालदेखि उनी स्वास्थ्य स्वयमसेविकाको भूमिकामा बाँधिएकी हुन् । वडामा जन्मेका नवजात शिशुलाई पोलियो थोपा र भिटामिन खुवाउने काम उनैले गर्छिन् । घरको कामबाट फुर्सद मिल्ने बित्तिकै उनी वडाका गर्भवती महिलालाई भेट्न जान्छिन् ।
उनीहरुलाई कति महिनामा कुन खोप लगाउने ? गर्भवती भएका बेला कस्तो खानपान गर्ने ? पेटमा भएको बच्चाको र आफ्नो कसरी उचित हेरचाह गर्ने भनेर सुझाव दिन पुगिरहन्छिन् । ‘हामीहरुलाई वडा रजिस्ट्रर दिइएको छ । वडामा भएका बालबालिका र महिलाको स्वास्थ्य अवस्थाबारे महिनामहिनामा रिपोर्ट बुझाउनुपर्छ’ यसोदाले भनिन्, ‘ड्युटी त डाक्टरको भन्दा पनि चर्को छ । तर, पारिश्रमिक शून्यबराबर’ उनले भनिन् ।
स्वयमसेविकाका पीडा र व्यथा शब्दमा व्यक्त गरिनसक्नु रहेको बताउँछिन् उनी । पैसा हुनेहरुलाई त केहि फरक पर्दैन । तर,आर्थिक अवस्था कमजोर भएकालाई त स्वयमसेविकालाई यो पेशा थप प्रताडित बनाउने पेशा बनेको उनीहरुले भोगाई सुनाए ।




















प्रतिक्रिया