Logo

कर्पोरेट फोकस

चन्द्रगिरीको पाखोमा प्रभु बैंकको १ अर्ब ७० करोडबढी ऋण : अपचलनको आशंकामा अनुसन्धान गर्दै सीआईबी



काठमाडौं । व्यवसायी चन्द्र प्रसाद ढकाल नेतृत्वको चन्द्रागिरी हिल्स लिमिटेडले विभिन्न बैंकबाट लिएको अर्बौं रुपैयाँ ऋणमा गम्भीर अनियमितता भएको प्रारम्भिक तथ्य सार्वजनिक भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले प्रभु बैंक भित्र भएको ऋण अपचलन, हुण्डी र बैंकिङ कसुर लगायतको मुद्दामा अनुसन्धान गर्ने क्रममा प्रभु बैंकको १७० करोड रुपैयाँभन्दा बढी रकम अपचलन भएको आशंका गर्दै थप अनुसन्धान अघि बढाएको स्रोतले जनाएको छ ।

चन्द्र ढकालका भाई हेमराज ढकाल अध्यक्ष रहेको चन्द्रागिरी हिल्सको आर्थिक वर्ष २०७६/७७ को अपरिस्कृत लेखा परीक्षण प्रतिवेदनअनुसार कम्पनीले स्थानीयसँग कुल ३४ करोड ९८ लाख ९५ हजार रुपैयाँमा १०६ रोपनी ९ आना जग्गा खरिद गरेको उल्लेख छ । तर सोही जग्गालाई पुनर्मूल्यांकन गरेर अत्यधिक ‘थैली’ कायम गरी दृष्टिबन्धक राख्दै विभिन्न बैंकहरूबाट २ अर्ब २० करोड रुपैयाँसम्म ऋण निकालिएको छ ।

केवलकार परियोजनाका लागि साविक थानकोट–१ ख, थानकोट महादेवस्थान तथा फाखेल–६ (मकवानपुर) क्षेत्रका जग्गा कौडीको भाउमा किनेर करोडौं मूल्य कायम गरिएको बिषय यसअघि पनि उठिसकेका छन् । ढकाल समूहले चन्द्रागिरीको पाखामा रहेको १०३ रोपनीभन्दा बढी क्षेत्रफललाई धितो देखाई बैंकहरूबाट ठूलो परिमाणमा कर्जा लिइएको स्रोतको दाबी छ ।

चन्द्रागिरी हिल्सले सहवित्तियकरण अन्तर्गत सिटिजन बैंकको नेतृत्वमा नेपाल इन्भेष्टमेन्ट बैंक, सानिमा बैंक, सनराइज बैंक, साविक मेगा बैंक र प्रभु बैंकले २०१४ मे २ र २०१६ मार्च ३१ को सम्झौताअनुसार २ अर्ब २० करोड रुपैयाँ आवधिक कर्जा लिएको देखिन्छ ।

बैंक स्रोतका अनुसार चन्द्रागिरी हिल्सले हाल रहेको करिब १०३ रोपनी १३ आना जग्गालाई मात्रै दृष्टिबन्धक राखेर रजिस्ट्रेसन पारित गरी ऋण प्रवाह गरिएको थियो । स्रोत भन्छ- “धितो चन्द्रागिरीको पाखो मात्रै राखिएको छ, त्यसको मूल्यांकन २ अर्ब कसरी पुग्यो ?’

यसैबीच, गत कार्तिक ११ गते सीआईबीले प्रभु मेनेजमेन्टमा भएको ठगी, आपराधिक विश्वासघात तथा नेपाल राष्ट्र बैंक ऐन, २०५८ अन्तर्गत केहि व्यक्तिलाई पक्राउ गरेको थियो । प्रभु समूहअन्तर्गतको प्रभु म्यानेजमेन्ट तथा रेमिट्यान्स कम्पनीले ४ सय ६४ सहकारीको २ अर्ब ४० करोडभन्दा बढी रकम हिनामिना गरेको निष्कर्ष अनुसन्धानले निकालेको थियो ।

यतिमात्र नभई ढकाल समूहले पाथिभरा केबलकार परियोजनामा समेत ७ लाख २० हजारमा खरिद गरिएको जग्गालाई २६ करोड ओभर मूल्यांकन गरी बैंक धितो प्रयोजनमा प्रयोग गरेको तथ्य फेला परेको छ। चन्द्रागिरी परियोजनामा जस्तै पाथिभरा केवलकार परियोजनामा पनि यस्तै ‘किर्ते मूल्यांकन’को ढाँचा दोहोरिएको आशंकामा सिआइबीले अनुसन्धान गरिरहेको बताईएको छ।

प्राप्त विवरणअनुसार चन्द्रगिरी हिल्सका नाममा विभिन्न बैंकबाट निकालिएको कर्जा मध्ये सिटिजन बैंकबाट ५२ करोड ३८ लाख, नेपाल इन्भेष्टमेन्ट बैंकबाट ४९ करोड ७६ लाख, मेगा बैंकबाट ११ करोड ९९ लाख, सिद्धार्थ बैंकबाट १० करोड, प्रभु बैंकबाट ३४ करोड ९५ लाख, सानिमा बैंकबाट ३४ करोड ९० लाख, सनराइज बैंकबाट २४ करोड ९२ लाख गरी जम्मा २ अर्ब १८ करोड ९३ लाखभन्दा बढी कर्जा प्रवाह भएको देखिन्छ, जसको अधिकांश रकम पछि प्रभु बैंकमा सारिएको स्रोतले जनाएको छ ।

सीआईबीका प्रवक्ता शिवराज श्रेष्ठले प्रभु समूहको अनुसन्धानका क्रममा रेमिट्यान्स कारोबारदेखि अन्य कारोबारमा समेत आईएमइ समूह समेत जोडिएको तथ्य भेटिएकोले यसबारे सुक्ष्म अनुसन्धान भैरहेको बताए ।

सीआईबीले धितो मूल्यांकन, कर्जा स्वीकृति प्रक्रिया र बैंकभित्रको निर्णय तहको भूमिकामाथि पुनः अनुसन्धान अघि बढाएको छ । यदि आरोप पुष्टि भएमा चन्द्र ढकाल नेतृत्वको कम्पनी मात्र होइन, बैंकका निर्णयकर्ता अधिकारीहरू समेत कानुनी दायरामा आउने बुझिएको छ ।

ढकाल समूहको ‘इन्साइडर कनेक्सन’: भाईको बीमा कम्पनी जोगाउन किराना पसलेमाथि १.६४ अर्बको मुद्दा

प्रकाशित मिति : १ बैशाख २०८३, मंगलवार १०:४९   :  बजे

465
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।