नेपाली कांग्रेसको केन्द्रिय समितीमा यतिबेला दोहोरी नै चलेको छ। पार्टीको संस्थापन र संस्थापन इतरपक्षबीच मत बाँझिएपछि दोहोरी सुरु भएको हो । उपनिर्वाचनको परिणामलाई लिएर एक अर्काबीचको मत बाँझिदा अहिले एक अर्कालाई आरोप लगाउदै नेताहरु आफु चोखो बन्न खोजिरहेका छन् ।
संस्थापन पक्षले निर्वाचन परिणामलाई सकारात्मक रुपमा लिएको छ भने वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले सरकारको अलोकप्रियताको फाइदा लिन नसकिएको धारणा राखेको समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।
कांग्रेसले सरकारप्रतिको वितृष्णालाई मतमा परिणत गर्न नसक्नुमा पार्टी नेतृत्वको कार्यशैलीलाई संस्थापन इतरपक्षले दोषी देखाएको छ। पार्टीको सांगठनिक गतिविधि र कार्यक्रमले भन्दा सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर र चितवनमा कांग्रेसको मत बढेको उनीहरुको तर्क छ। संस्थापन पक्ष यो तर्कसँग सहमत छैन। सभापति शेरबहादुर देउवा र उनीपक्षीय नेताहरुले कांग्रेसका पक्षमा जनमत आकर्षित हुन थालेको टिप्पणी गर्न थालिएको छ।
कांग्रेस वरिष्ठ नेता पौडेलले सरकारको अलोकप्रियताको स्तर अनुसार पार्टीले जनमत लिन नसकेको बताए। उपनिर्वाचनको मत परिणामलाई हेर्दा विशेष उत्साहजनक भएन। सरकारको अलोकप्रियताको फाइदा हामीले लिन सकेनौुं पौडेलले कान्तिपुरसँग भने, यसबारे पार्टीको बैठकमा पनि समीक्षा हुनेछ।
पार्टीका आन्तरिक मुद्दा र उपनिर्वाचनका समीक्षाका लागि कांग्रेस सभापति देउवाले केन्द्रीय कार्यसमितिको बैठक मंसिर २६ गते बोलाएका छन्। पौडेलले उक्त बैठकमै निर्वाचनको विस्तृत समीक्षा हुने बताए। तर यो निर्वाचनबाट मुलुकमा कांग्रेस र कम्युनिष्ट नै प्रमुख शक्ति हुन् भन्ने प्रमाणित भएको छ, तेस्रो शक्ति दिएन उनले भने, सरकार अलोकप्रिय बने पनि नेकपाको तलसम्मको पार्टी संगठनले काम गरेको देखियो।
पार्टी उपसभापति विमलेन्द्र निधिले भक्तपुर, चितवन र धरानको मत परिणाम अर्थ र महत्वपूर्ण रुपमा लिनुपर्ने बताए। मंसिर १६ गते पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश २ को रौतहट, सुदूरपश्चिमको बैतडी, प्रदेश ५ को अर्घाखाँची , प्रदेश ३ को चितवन र प्रदेश १ को धरान र उपत्यकाको भक्तपुरको प्राप्त परिणामले कांग्रेस उत्साही भएको बताएका थिए। उनले विगतमा जितेको १ गाउँपालिकाको अध्यक्ष, १ उपाध्यक्ष र केही वडा अध्यक्षहरु गुमाएकोमा सांगठिनक कमजोरी औल्याए पनि नेतृत्वको कार्यशैलीप्रति लक्षित गरेका छैनन्।
कांग्रेस नेता रामशरण महत अहिलेको नतिजाबाट सन्तुष्ट हुने ठाउँ नभएको बताउँछन्। हामीले यो भन्दा राम्रो नतिजा आउँला भन्ने सोचेका थियौं, सरकारको अलोकप्रियताका कारण पोखरा, बागलुङ र दाङमा समेत कांग्रेसको पक्षमा राम्रो मत आउँला भन्ने सोचिएको थियो। तर आउन सकेन उनले भने।
केन्द्रीय सदस्य प्रदीप पौडेल पार्टीको सांगठनिक प्रभावले भन्दा सरकारको वितृष्णाको मत कांग्रेसमा परेको बताउँछन्। उपनिर्वाचन आन्दोलनको रुपमा उठ्नुपर्दथ्यो, लाखौं हजारौंको जुलुस भन्दा पनि उपनिर्वाचनको जनमतबाट सरकार सच्चिने अवस्था बन्थ्यो, उनले भने, तर सरकार सच्चिने गरी कांग्रेसले जनमत ल्याउन सकेन। वैकल्पिक शक्तिमा पनि कुनै भरोसा देखिएन। उनले कांग्रेसले राम्रो काम गरेर भन्दा पनि सरकारप्रतिको असन्तुष्टिका कारण धरान, भक्तपुर चितवनमा केही सुधार गर्न सकेको बताए ।





















प्रतिक्रिया