Logo

अर्थ

उखु किसानले आफ्नो पसिनाको मुल्य कहिले पाउने ? (भिडियो सहित)



काठमाण्डौंले आफ्नो पीडा सुनिदिने आशामा माइतीघर मण्डलामा बिहानैदेखि भेला भएर विरोध गर्न थालेको पनि दुई हप्ता पुग्न लाग्यो । तर आफ्नो पसिनाको मुल्य कहिले हो अहिलेसम्म कुनै अत्तोपत्तो छैन ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलले विगत तीन बर्षदेखि मुल्य नदिएको गुनासो सुनाउन माइतीघर मण्डलामा धर्ना बस्नु किसानहरुको खुशिको बिषय पक्कै होइन । रौतहटबाट प्रदर्शनमा सहभागी हुन आएका एक युवा किसानले अनलाईन पानासँग भने उद्योग मन्त्रीले किसानको भिडियो हेरेर भावुक हुँदै हामी तुरुन्त कार्वाही गर्न भने असर्मथ रहेको बताएको कुरामा आक्रोश व्यक्त गर्दै ‘यो सरकार किसानको कि माफियाको ?’ भन्ने प्रश्न राखे ।

१ डिग्री भन्दा कम तापक्रममा चिसोको पर्वाह नगरी प्रदर्शनमा उत्रिएका ती युवाले ‘अन्नपूर्ण चिनी मिलका संचालक राकेश अग्रवाललाई सरकारले पक्राउ गर्न सक्दैन, सरकारले अग्रवाललाई संरक्षण गरेको छ ।’
उनले भने । अन्नको भण्डार मानिने प्रदेश २ का किसानका समस्या समाधान नभए प्रदेश २ मरुभूमिमा परिणत हुने चेतावनी दिए ।

सर्लाही हरिवनका किसानको पीडा पनि उस्तै छ । श्रीराम सुगर मिलले दिएको पीडा सुनाउदाँ निकै भावुक देखिए । ‘हाम्रो पीडा काठमाडौले सुन्छ कि भनेर आएको अहिलेसम्म कसैले सुनेको छैन ।’ उनले भने ।

यस बिषयमा राष्ट्रियसभा सदस्य समेत रहेका समाजवादी पार्टीका नेता रामपृत पासवानले किसानले आफ्नो खेतमा बेचेको उखुको मुल्य पनि नपाउने कुरा लज्जास्पद रहेको उल्लेख गर्दै लोककल्याणकारी भनिने राज्यको लागि यो समस्या समाधानमा सरकार संवेदनशील नभएको र उद्योगीलाई सरकारले संरक्षण गरिरहेको उल्लेख गरे ।

विद्यार्थी र कलाकारको पनि किसानलाई साथ

उखु किसानका माग तत्काल सम्बोधन गर्न सरकारलाई दबाब दिनको लागि किसान सँगै विद्यार्थी र कलाकार सहित राजनैतिक दलका केही नेताहरूले माइतीघर मण्डलाको विरोध प्रदर्शनमा सहभागी भए ।

प्रदर्शनमा सहभागीहरुले सरकारी चिनी मिल संचालन गर्नुपर्ने, उखुको बाँकी रहेको भुक्तानी तत्काल दिनुपर्ने, निजी चिनी मिल राष्ट्रियकरण गर्नुपर्ने, किसान माथिको शोषण अन्त्य गर्नुपर्ने लगायतका नाराहरु लगाएका थिए ।

अहिलेसम्म विभिन्न उखु उद्योगले किसानलाई करिब १ अर्ब ४० करोड भुक्तानी दिन बाँकी छ । किसानले सरकारका तर्फबाट पाउने एक अर्ब ३४ करोड अनुदान पनि किसानले प्राप्त गर्न सकेका छैनन ।

महालक्ष्मी सुगर मिल, श्रीराम सुगर मिल, एभरेस्ट सुगर मिल, हिमालय सुगर मिल, वाग्मती सुगर मिल, अन्नपूर्णलगायतका चिनी उद्योगले किसानलाई ठूलो मात्रामा उखुको भुक्तानी दिन बाँकी रहेको छ ।

हेर्नुहोस भिडियो:

 

प्रकाशित मिति : १५ पुष २०७६, मंगलवार १२:५१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।