Logo

पत्रपत्रिका

छाउगोठमा ज्यान गुमाउने महिलाको शवमा समेत विभेद



महिनावारी हुँदा घरभित्र छिर्न नदिने समाजले छाउगोठमा ज्यान गुमाउने महिलाको शवमा समेत विभेद गर्ने गरेको छ । छाउगोठमा मृत्यु भएकाको शव आँगनमा राख्न नदिने मात्रै होइन, दाहसंस्कारका लागि घाट लैजाँदासमेत नियमित हिँड्ने बाटो प्रयोग गरिँदैन । अन्तिम संस्कारमा पुजारी र धामीझाँक्रीसमेत जाँदैनन् ।

अछामको साँफेबगर नगरपालिका–३ डिग्रेनीकी पार्वती बुढा राउतको मृत्युमा यस्तै विभेद भयो । १६ मंसिरमा छाउगोठमा निसास्सिएर ज्यान गुमाएकी उनको शव छाउगोठबाट निकालेर घरको आँगनमा लगिएन । नियमित हिँड्ने बाटो छलेर दाहसंस्कारका लागि घाट लगियो । मलामीहरू सधैँ हिँड्ने मूलबाटो हुँदै घाटतिर लागे पनि शव बोक्नेले खेतको आलीको वैकल्पिक बाटो प्रयोग गरेका थिए । ‘पार्वतीको मृत्युपछि शव घर ल्याइएन, छाउगोठछेउमै राखिएको थियो,’ अधिकारकर्मी पशुपति कुँवरले भनिन्, ‘टाढैबाट शव हेरेर दुःख व्यक्त गर्ने धेरै भए, तर शव छोएर अन्तिमपटक अनुहार हेर्ने भने परिवारका सदस्य र नजिकका आफन्त मात्रै थिए ।

तीन वर्षअघि छाउगोठमै ज्यान गुमाएका बान्नीगढी–जयगढ गाउँपालिका–४ तिमिल्सैन गाउँकी डम्बरा उपाध्याय र वडा नम्बर १ गाज्राकी रोशनी तिरुवाको अन्तिम संस्कार पनि प्रचलितभन्दा फरक गरिएको थियो । यहाँ कसैको मृत्युमा सम्बन्धित व्यक्तिको घरको आँगनमा लगेर मात्रै घाटतिर लगिन्छ । सामाजिक मान्यताकै कारण छोरीको शव आँगनमा नल्याई छाउगोठबाट सीधै दाहसंस्कारका लागि लगेको रोशनीका बुबा भरत तिरुवाले भने । ‘सामाजिक संस्कार नै यस्तै छ, अब विगत कोट्याएर काम छैन ।’

डम्बराका ससुरा छविलालले पनि बुहारीको काजकिरिया डराइ–डराई गरेको अनुभव सुनाए । तर, त्यो भ्रम मात्रै रहेको अहिले उनलाई लागिरहेको छ । ‘मृत छाउपडीको किरिया बस्दा आफूलाई पनि केही हुन्छ कि भनेर मनमा डर लागिरहन्थ्यो,’ उनले भने, ‘१३ दिनसम्म त राम्रोसँग निद्रा लागेन । तर, त्यो सबै भ्रम मात्र रहेछ । मलाई अहिलेसम्म केही भएको छैन । म ठिकै छु ।’

छाउगोठमा ज्यान गुमाएका महिलाको शवमा समेत विभेद गर्ने चलन पितृसत्तात्मक सोच भएको छाउपडी प्रथा अन्त्य गर्ने अभियानमा संलग्न अधिकारकर्मी कुँवर बताउँछिन् ।
अछाममा ११ वर्षयता छाउगोठमै निसास्सिएर तथा प्राकृतिक प्रकोपलगायत कारण १४ महिलाले ज्यान गुमाएका छन् । तर, परिवारको सदस्य गुमाएकै घर र गाउँका महिला सामाजिक कुसंस्कारका कारण अहिले पनि छाउगोठमै बस्न बाध्य छन् । नयाँ पत्रिकाबाट

प्रकाशित मिति : १ माघ २०७६, बुधबार ०२:३९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।