Logo

अर्थ

कोरोना प्रभाव : तेलको मूल्यमा २५ प्रतिशत गिरावट



कोरोना भाइरसका कारण सिर्जित समस्याका कारण खनिज तेलको मूल्यमा भारी गिरावट भएको छ । अन्तर्राष्ट्रिय मापदण्डको ब्रेन्ट क्रुडको लन्डनको कारोबारमा प्रति ब्यारेल ११.४४ अमेरिकी डलर अर्थात् २५.३ प्रतिशत गिरावट आएको छ । लन्डनमा प्रति ब्यारेल ३३.३३ अमेरिकी डलरमा कारोबार भएको छ ।

यो नाटकीय गिरावटसँगै अमेरिकी खनिज तेलको मूल्यमा पनि शुक्रबार १०.१ प्रतिशत गिरावट आएको छ, र पाँच वर्ष यताकै यो सबैभन्दा ठूलो नोक्सानी हो । मूल्यलाई स्थिर राख्न उत्पादनमा के कति कटौती गर्ने भन्ने विषयमा ठूला तेल उत्पादक राष्ट्रहरु साउदी अरेबिया, रसिया र अरु तेल उत्पादक मुलुकहरुबीच मतैक्य नभएपछि यस्तो समस्या आएको हो ।

रुसले अहिलेको तेलको मूल्यलाई स्वीकार गर्न सकिने बताइसकेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हालको तेलको मूल्यले रुसी अर्थतन्त्र धानिन सक्ने बताइसकेका छन् । रुसले तेल उत्पादन घटाउन मानेको छैन ।

तेल उत्पादक देशहरुको संगठन ओपेकमा रुस छैन । तर, , ओपेक राष्ट्रहरुको भियना बैठकले रुसलाई अहिलेको संकट टार्न आग्रह गर्ने निर्णय गरेको थियो । सन्देश लिएर रुसी मन्त्री मस्को फर्किए । तर, रुस उत्पादन घटाउन तयार भएन । पुटिनको यो कदमले धेरैलाई आश्चर्यमा पार्यो ।

जवाफमा साउदी अरेबियाले उत्पादन बढायो । कोरोना भाइरसका कारण विश्व बजारमा तेलको माग घटेको अवस्था छ । जसका कारण मूल्य घटेर प्रति ब्यारल ३० डलर पुगेको छ । त्यसमाथि साउदी अरेबियाले उत्पादन बढाएर चिनियाँ उपभोक्तालाई प्रति ब्यारल ६ देखि सात डलरमा उपलब्ध गराउने नीति लिइसकेको छ । रुस र साउदी अरेबियाबीचको प्रतिष्पर्धाले तेलको मूल्य ह्वात्तै घट्ने देखिएको छ ।

अमेरिकाले इरानी सैनिक कमाण्डरमाथि आक्रमण गरेपछि इरानले जवाफी हमला गर्दा केही महिना अघिमात्र कच्चा तेलको मूल्य प्रतिब्यारल ७० डलर कटेको थियो । यदि प्रतिब्यारल ६ डलरमा झर्दा के होला ? साउदी अबेरियाले प्रतिदिन २० लाख लिटर कच्चा तेल उत्पादन गर्ने तयारी गरेको छ । विश्व बजारमा अत्याधिक उत्पादनले मूल्यमा भारी गिरावट हुने देखिन्छ । तेलयुद्धले विश्वबजारमा ठूलो असर गर्दैछ । तेल उत्पादनबाट निर्भर देशहरुमा आर्थिक संकट पर्नसक्छ । तर, तेल आयातकर्ता देशहरुलाई लाभ मिल्न सक्छ ।

विश्वव्यापी तेल बजारमा देखिएको उथलपुथलकै कारण मध्यपूर्व र एसियाली शेयर बजारमा व्यापक गिरावट आएको छ । तेलको मूल्यमा गिरावट आउँदा दक्षिण कोरिया, जापान र चीनलाई फाइदा पुग्ने अवस्था देखिए पनि विषम अस्थिरताले अर्थतन्त्रलाई ठूलो नोक्सानी गर्नेछ ।
मानिसको यात्रामा कटौती भएका कारण ऊर्जाको मागमा कमी आएको छ । कोरोनाभाइरसका कारण अर्थतन्त्रको गति सुस्त हुनुको अर्थ मागमा कमी आउनु पनि हो । एक्सीकर्पका प्रमुख बजार रणनीतिकार स्टिफेन इन्सले साउदी अरेबियाले बजार हिस्सा ओगट्ने उद्देश्य सहित तेलको उत्पादन अझ बढाउन सक्ने बताउनुभयो । विश्व तेल बजारमा यस्तै तर्क विगतमा पनि गरिएका थिए ।

सन् २०१४ मा ओपेकले अमेरिकी तेल नीतिमा आएको फेरबदललाई ध्यानमा राखी तेल उत्पादन कटौती गर्नुको साटो बढाएको थियो । यसबाट १०० अमेरिकी डलर प्रति ब्यारेल पुगिसकेको तेलको मूल्य सन् २०१५ मा ४० डलरभन्दा तल झरेको थियो । अमेरिकी शेयर बजार पनि गत महिनाको तुलनामा १२.२ प्रतिशतले घटिसकेको छ ।

प्रकाशित मिति : २७ फाल्गुन २०७६, मंगलवार ११:३०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।