Logo

प्रवास

भारतमा गहना व्यापारीको परिवारका चारजना झुन्डिएको अवस्थामा फेला



४५ वर्षकागहना व्यापारी यशवन्त सोनीसहित उनकी श्रीमती ४१ वर्षीया ममता, छोराहरु २३ वर्षका अजित र २० वर्षका भारत झुन्डिएको अवस्थामा फेला परेका छन् । घटना भारतको जयपुरको हो । कानोता इलाकास्थित राधिका बिहारमा यशवन्त आफ्नो परिवारसँगै बस्दै आएका थिए । प्रहरीको सुरुवाती अनुसन्धानअनुसार मृतक यशवन्तले ऋण लिएका थिए । ऋण माफियाहरुले उनलाई निरन्तर प्रताडित गरेका थिए । अन्तत बाध्य भएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ । अहिले, यो परिवारको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । फरेन्सिक टिमले पनि चेकजाँच गर्दैछ । 

शनिबार परिवारलाई बाहिर नदेखेपछि नजिकै बस्ने गरेका आफन्त घरमा पुगेका थिए । ढोकाभित्रबाट लगाइएको थियो । उनीहरुले ढोकाढक्ढक्याउँदा कुनै आवाज आएन । त्यसपछि उनीहरुले  झ्यालबाट चिहाएर हेर्दा पुरै परिवार झुन्डिएको अवस्थामा थियो । यसपछि उनीहरुले प्रहरीलाई सूचना दिए । 

प्रहरीका अनुसार तीन बाबुछोरा एउटै कोठामा झुन्डिएका थिए भने श्रीमती अर्कै कोठामा भुन्डिएकी थिइन् । श्रीमतीको आँखामा पट्टी थियो । दुबै छोराको खुट्टा बाँधिएको थियो ।  छिमेकीहरुका अनुसार राति केही मानिस घर आएका थिए । लेनदेनका विषयमा उनीहरुसँग केही विवाद चलेको सुनिएको थियो । तर त्यसपछिका घटनाक्रम कसैलाई थाहा भएन । 

यशवन्त गहनाको काम गर्थे । मिडिया रिपोर्टमा बताइएअनुसार प्रहरीले सुसाइड नोट पनि फेला पारेको छ। यद्यपी, यसबारे प्रहरीले प्रतिक्रिया दिन अस्विकार गरेको छ । छोराहरुको खुट्टा र आमाको आँखामा पट्टी किन बाँधियो भन्ने विषयमा पनि प्रहरीले कुनै सुचनामा बाहिर ल्याएको छैन । 

प्रहरी अनुसन्धानअनुसार यशवन्तले झन्डै एक महिना पहिले आत्महत्याको प्रयास गरेका थिए । उनले हातको नशा काटेका थिए । यतिबेला परिवारले अस्पताल लगेकाले उनको ज्यान बचेको थियो । 

ऋणले हैरान थियो परिवार

घटनास्थलमा पुगेका एडिशनल एसपी मनोज चौधरीका अनुसार गहनाको काममा यो परिवार सक्रिय थियो । उनीहरुले कोही व्यक्तिसँग ब्याजमा पैसा लिएका थिए र ब्याज माफियाले उनीहरुलाई प्राडित गरिदिएका थिए । त्यसैकारण परिवारले झुन्डिएर आत्महत्या गरेको हुनसक्ने प्रहरीको आशंका छ ।

 प्रहरीले यस विषयमा छिमेकीहरुसँग पनि बयान लिएको छ भने केही व्यक्तिहरुलाई छानविनका लागि हिरासतमै राखेको छ । चारै मृतकको शवलाई पोस्टमार्टका लागि जेएनयु अस्पतालमा राखिएको छ । पहिले उनीहरुको कोरोना जाँच र त्यसपछि पोस्टमार्टम गरिने अस्पतालका अधिकारीहरुले जानकारी दिएका छन् । 

प्रकाशित मिति : आश्विन ५, २०७७ सोमबार  १ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।