Logo

अर्थ

प्रचण्डका घरबेटीलाई दुई अर्बको मल किन्ने ठेक्का



समयमा काम सम्पन्न नगरेर निर्माण क्षेत्रमा बदनाम शैलुङ कन्स्ट्रक्सनका सञ्चालक शारदाप्रसाद अधिकारीको कम्पनीले दुई अर्ब रुपैयाँभन्दा बढीको रासायनिक मल किन्न सरकारी ठेक्का पाएको छ।

अधिकारी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)का घरबेटी हुन्। अधिकारीले राजनीतिक पहुँच प्रयोग गरेर ठूला सरकारी कारोबारमा कब्जा जमाउँदै आएको आरोप लाग्ने गरेको छ।

समयमा खरिद नगरेर किसानले मल प्राप्त गर्न नसकिरहेको अवस्थामा राजनीतिक पहुँचवाला अधिकारीले ठेक्का पाएपछि बजारमा थप अभाव हुन सक्ने भन्दै किसान चिन्तित भएका छन्।

शैलुङ कन्स्ट्रक्सनको भगिनी संस्था शैलुङ इन्टरप्राइजेज र सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडबीच केही समयअघि साढे पाँच लाख क्विन्टल (५५ हजार टन) रासायनिक मल खरिद सम्झौता भएको छ। शैलुङमार्फत करिब दुई अर्ब १४ करोड रुपैयाँको युरिया मल खरिद गर्ने सम्झौता भएको कृषि सामग्री कम्पनीले जनाएको छ।

अहिलेको बजार मूल्य अनुसार युरियाको मूल्य प्रतिक्विन्टल ३९ सय रुपैयाँ छ। यस हिसाबले साढे पाँच लाख क्विन्टलको मूल्य दुई अर्ब १४ करोड ५० लाख रुपैयाँ हुन्छ। अन्तर्राष्ट्रिय बजार र डलर सटही मूल्य तलमाथि भइरहन्छ। सरकारले अनुदान दिएकाले किसानले भने क्विन्टलको १४ सय रुपैयाँमा युरिया मल पाउँछन्।

शैलुङले २५ हजार टन युरिया आयात गर्न एलसी खोलिसकेको छ। थप ३० हजार मल खरिदका लागि कम्पनीसँग सम्झौता गरेर यसै साता एलसी खोल्ने तयारी गरेको छ । रासायनिक मल कारोबारमा शैलुङको अनुभव नभए पनि राजनीतिक पहुँच प्रयोग गरेर उक्त कम्पनीलाई मिल्ने गरी प्रक्रिया पुर्‍याएको आरोप लागेको आजको नागरिक दैनिकमा खवर छ ।

प्रकाशित मिति : २४ असार २०७७, बुधबार ०८:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।