Logo

प्रदेश

सिन्धुपाल्चोक पहिरो अपडेट: २ को मृत्यु, १८ बेपत्ता, ५ गम्भीर घाइते



बुधबार रातिको अविरल वर्षाका कारण ठाडो खोलामा आएको बाढी तथा पहिरोमा परेर मृत्यु भएका दुई जनाको शव फेला पर्नुको साथै सनाखत भएको छ ।

मृत्यु हुनेमा बाह्रबीसे नगरपालिका –५ जम्बुका २० वर्षीय निकेश बस्नेत र उनकी तीन वर्षीया छोरी रहेको र दुवैको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले पुष्टी गरेको हो । घटनामाा १८ जना बेपत्ता तथा पाँच जना गम्भीर घाइते भएका छन् ।

घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट उद्धार भइरहेको छ । भोटेकोशी नदीको बाढीले अरनिको राजमार्गका विभिन्न ठाउँमा कटान गरेपछि आवागमन अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका एक प्रहरी अधिकारी काफ्लेका अनुसार जम्बुमा ११ घर र खागदलमा सानाठूला गरी २० घर टहरा बगाउनाका साथै पक्की पुलसमेत बगेका छन् । जम्बुका तीन गम्भीर घाइतेलाई उपचारका लागि हेलिकोप्टरबाट राजधानी लाने प्रयास भइरहेको छ ।

त्यसै गरी भोटेकोशी गाउँपालिका –५ बुलकोटेमा स्थानीय खहरे खोलामा आएको बाढीले राजमार्ग छेउका तीन टहरासमेत बगाएको र चार जना बेपत्ता भएका छन भने दुई जना घाइते भएको गाउँपालिकाका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए । बाढीले त्यहाँस्थित सानो पुलेसा (कल्भर्ट) समेत बगाएको छ ।

बाढीले धनजनको ठूलो क्षति भएपछि सभामुख अग्निप्रसाद सापकोटा हेलिकोप्टरमार्फत आज बिहान घटनास्थल जान लागेकामा प्रतिकूल मौसमका कारण धुलिखेलबाट नै फर्किनुपरेको उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले सामाजिक संजाल मार्फत जानकारी दिएका छन् ।

प्रकाशित मिति : २५ असार २०७७, बिहीबार १३:०७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।