प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद गगन थापाले काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्यलाई सातबुँदे ध्यानाकर्षण पत्र दिएका छन् । पूर्व स्वास्थ्यमन्त्री रहेका सांसद थापाले सोमबार मेयर शाक्यलाई कोरोना रोकथामका लागि महानगरले खेल्न सक्ने भुमिकाबारे सात बुँदे सुझावसहित ध्यानाकर्षण गराएका छन् ।
उनले भनेका छन्, काठमाडौँबाट प्रतिनिधित्व गर्ने संघीय र प्रादेशिक जनप्रतिनिधिसंग नियमित संवाद र समन्वय गरी आवश्यक सहयोग लिन आग्रह गरेका छन् । हामीसँगै काम गर्न चाहान्छौं । तपाई सफल हुनु भनेको हामीले प्रतिनिधित्व गर्ने नागरिक सुरक्षित हुनु हो, त्यसैले नियमित रूपमा समन्वय गर्नुहोस् भन्दै सुझाव दिएका छन् ।
महानगरभित्र कन्ट्याक्ट् ट्रेसिङ ढिला छ, त्यसमाथि साँघुरो रहेको छ, जसले हामीलाई झन् समस्याग्रस्त बनाउँछ । यसलाई चुस्त बनाउन अहिलेको जनशक्ति अपुग हुन्छ । यसलाई प्रभावकारी र चुस्त बनाउन तथा आवश्यक जनशक्ति थप गर्नुस् ध्यानाकर्षण पत्रमा भनिएको छ ।
कन्ट्याक्ट् ट्रेसिङबाट आएकाको पनि परीक्षण भइरहेको छैन । यी सबैको टेस्ट वार्ड र टोलमै गर्ने व्यवस्था मिलाउन र परीक्षणको मात्रा बढाउन तथा व्यवस्थित बनाउन समेत अनुरोध गरेका छन् ।अस्पतालको तयारी र व्यवस्थापन संघीय सरकारको दायित्व हो तर आइसोलेसनको जिम्मा स्थानीय सरकारले गर्नुपर्छ । काठमाडौँका अन्य नगरपालिकासंग सहकार्य गरी तत्काल मापदण्ड बमोजिमका सामुदायिक आइसोलेसन सेन्टरहरू कुनै प्रयोगमा नआएको भवनहरू लिएर तत्काल सुचारु गर्न आग्रह गर्दै सांसद थापाले खाद्यान्न पसल दिनको १–२ घण्टा मात्र खोल्न दिंदा झन् भिडभाड बढ्ने बताए । त्यसैले पसल बिहान ६ देखि राति ८ बजेसम्म खोल्नुपर्ने, सामान किन्न स्थानीय तहले एक घर एक पासको व्यवस्था गर्ने जसले गर्दा घर पिच्छे सामान पनि पाइन्छ र भिड पनि नहुने सुझाव दिएका छन् ।
सांसद थापाले कोरोना संक्रमण संग जोडिएका विभिन्न सुचनाहरुलाई लिएर नगरवासी अलमलमा परेको बताए । नगरवासीलाई अलमल नहोस् भन्नको लागि नागरिकलाई स्वास्थ्य लगायत कुनै पनि अफ्ठ्यारो पर्दा सम्पर्क र समन्वय गर्न वडा अनुसार निश्चित संयन्त्र बनाउन र सो को प्रभावकारी सम्प्रेषण गर्ने व्यवस्था समेत ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् ।
साथै उच्च जोखिममा रहेको काठमाडौँलाई दुर्घटनाबाट बचाउन महानगरपालिकाले लिने अग्रसरता र प्रभावकारी व्यवस्थापन महत्त्वपूर्ण रहेको दाबी गरे । हामी सबै सहयोग गर्न तयार छौँ उनले भने । सबै तह र निकायसंग समन्वय गर्नुहोस्।महानगरको संरचनालाई गतिशील बनाउनुहोस् । आवश्यक स्रोत र जनशक्ति परिचालन गर्नुहोस्। नागरिकको सुरक्षा नै हामी सबैको पहिलो प्राथमिकता हो भन्दै ध्यानाकर्षण गरेका छन् ।




















प्रतिक्रिया