प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको एक्लो प्रयासले मात्रै कोरोना भाइरस संक्रमण नियन्त्रण नहुने बताएका छन् । पछिल्लो समय मुलुकमा कोरोनाको दर बढ्दै गएपछि प्रधानमन्त्री ओलीले मंगलबार प्रमुख प्रतिपक्ष दल सहित विज्ञहरुसँग परामर्श गरेका थिए ।
छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले भने, यो महामारी सबैको चुनौती हो, कसैले पनि यसलाई विरोधको अवसरको रुपमा ठान्नु हुँदैन । बालुवाटारमा जारी विज्ञ र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा प्रधानमन्त्री ओलीले संकटलाई विरोध गर्ने अवसरका रूपमा नलिन आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले भने, यता पल्टाएर पनि विरोध, उता पल्टाएर पनि विरोध । कहिले लकडाउन किन गरेको भनेर विरोध, कहिले लकडाउन किन खोलेको भनेर विरोध, गर्ने गरेको भन्दै असन्तुष्टि समेत जनाएको कुरा उदृत गर्दै प्रधानमन्त्रीका सञ्चार विज्ञ रामशरण बजगाईंलेले बताए । यो महामारी सबैको चुनौती भएकाले कसैले पनि यसलाई विरोधको अवसर ठान्न नुहने भन्दै प्रधानमन्त्रीले सुझाएका थिए ।
त्यस्तै बैठकमा बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले भने,हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्यो । मुख छोपेर हिँड्न बानी पार्नु पर्यो । बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव महेन्द्र गुरागाईंले सरकारले प्रतिदिन १८ हजार व्यक्तिको परीक्षण गर्न सक्नेगरी ल्याबको स्थापना गरिएको र हालसम्म ४ लाखको पीसीआर विधिबाट कोरोना भाइरसको परीक्षण गरिएको जानकारी दिएका छन् ।




















प्रतिक्रिया