राष्ट्र बैंकले जारी गरेको चालु आर्थिक बर्षको मौद्रिक नीति अनुसार बैंक तथा वित्तीय संस्थाले सहकारीलाई दिने ऋणको सीमा पाँच गुणाले बृद्धि भएको छ । बचत तथा ऋण कारोबार गर्ने बाहेकका विषयगत सहकारीलाई बैंक तथा वित्तीय संस्थाले दिने ऋणको सीमा पाँच गुणासम्म बढाइएको हो ।
सहकारी संस्थाले समूह सदस्यमार्फत् सामूहिक खेती गर्नका लागि प्रति सदस्य पाँच लाख रुपैयाँसम्म ऋण लिन सकिने व्यवस्था गरिएको छ । गत आर्थिक बर्षमा प्रति सदस्य एक लाख रुपैयाँ ऋण पाउने र सहकारीका लागि बैंक तथा वित्तीय संस्थाले एक करोड रुपैयाँसम्म ऋण उपलब्ध गराउने व्यवस्था थियो । यसको आधारमा विषयगत सहकारीहरुले पाँच करोड रुपैंयाँसम्म ऋण लिन सक्नेछन् ।

नियमन तथा सुपरिवेक्षणको अभावले सहकारी संस्थाहरूमा आर्थिक पारदर्शिताको प्रश्न उठिरहेका बेला राष्ट्र बैंकले यस्तो नीति ल्याएको हो । सहकारीले ऋण प्राप्त गर्ने र त्यसले लघु, घरेलु उद्यमको विकास तथा आर्थिक समावेशीता अभिवृद्धिजस्ता लक्षित कार्यक्रमको उपलब्धि हासिल हुन नसक्ने अर्थविदहरुको प्रतिक्रिया छ ।
यस्तो नीतिले राजनीतिक हस्तक्षेप बढाउने प्रभावशाली व्यक्ति निकटका सहकारीले ऋण प्राप्त गर्ने अवस्था आउने राष्ट्र बैंकका पूर्व गभर्नर डा. चिरञ्जीवी नेपालले बताए । उनले भने- ‘सहकारीहरूको राम्रो नियमन र सुपरिवेक्षणविना ऋण लगानी रकम बढाउनु राम्रो मान्न सकिदैंन । यसले बैंक तथा वित्तीय संस्थाको कर्जा जोखिम समेत बढाउँछ ।’
पूर्व गभर्नर नेपालको प्रतिक्रियासँग मेल खाने गरी राष्ट्र बैंकले पनि बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा दुरुपयोग भएको पाइएमा त्यस्तो कर्जालाई खराब कर्जामा वर्गीकरण गरी १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था गरेको छ ।




















प्रतिक्रिया