नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर कम्पनीको बहुमत शेयर खरिद गरेको छ । इन्स्योरेन्स कम्पनीले उत्कृष्ट मध्येभित्र पर्ने दोस्रो नम्वरमा रहेको मर्चेन्ट कम्पनीको ५१ प्रतिशत संस्थापक शेयर खरिद गरेको हो । नेपाल लाइफले उक्त शेयर खरिद गरेपछि मर्चेन्ट कम्पनीको जारी एवं चुक्ता पूँजी ३० करोड हुने कम्पनीले जनाएको छ ।
शुक्रबार दुबै कम्पनीका प्रतिनिधिले शेयर खरिदबिक्री सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईं र नेशनल मर्चेन्ट बैंकरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नविन बास्कोटाले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
नेपाल लाइफले लगानी विविधिकरण गर्न नयाँ कम्पनीको शेयर स्वामित्व खरिद गरेर सञ्चालन गर्न लागेको जनाएको छ । नेपाल लाइफ नेपालकै सबैभन्दा ठूलो बीमा कोष भएको कम्पनी हो । सवा खर्ब भन्दा ठूलो कोष परिचालन गर्न कम्पनीले लगानी विविधिकरण गर्ने लक्ष्य लिएको छ । ३ डिजिटको बोनसदर पुर्याउने लक्ष्यका साथ काम गरिरहेको नेपाल लाइफले सो कम्पनीको शेयर स्वामित्व खरिद गरेपछि नेशनल मर्चेन्ट बैंकर थप आक्रामक रुपमा बजारिकरणमा जाने विश्वास लिइएको छ ।
दुबै कम्पनीका संचालक समितिका अध्यक्षहरु र सदस्यहरुको उपस्थितमा भएको हस्ताक्षरपछि नेपाल लाइफका नायब महाप्रबन्धक अमित कयालले नेपाल लाइफ इस्योरेन्सले आफ्नो लगानी इन्भेष्टमेन्ट बैंकर कम्पनीमा गर्न पाएकोमा खुसी व्यक्त गरेका छन् । नेशनल मर्चेन्ट बैंकरका प्रमुख कार्यकारी अधिकृत नबिन बास्कोटाले नेपाल लाइफको व्यवस्थापनलाई धन्यवाद दिँदै आगामी दिनमा नेपाल धितोपत्र बोर्डबाट जारी गरिने अन्य इजाजतहरु पनि लिएर एउटा भरोसापूर्ण एवं बलिया बैंकर कम्पनीको रुपमा काम गर्दै अघि बढ्ने प्रतिबद्धता जनाएका छन् ।




















प्रतिक्रिया