Logo

कर्पोरेट फोकस

नेपालको निजी क्षेत्रसँग मिलेर काम गर्न बंगलादेश तयारः राजदूत चौधरी



नेपालका लागि बंगलादेशका राजदूत सलाउद्धिन नोमन चौधरीले नेपाल र बंगलादेशबीच लगानी र व्यापार वृद्धि गर्न निजी क्षेत्रसँग मिलेर काम गर्ने बताएका छन् । नेपाल उद्योग परिसंघ नेतृत्वको टोलीसँग भेटवार्ताका क्रममा राजदूत चौधरीले बंगलादेशी लगानीकर्ताका लागि नेपाल उपयुक्त लगानी गन्तव्य रहेको उल्लेख गर्दै मिलेर काम गर्ने बताएका हुन् ।

नेपाली वस्तुहरूलाई बंगलादेश निर्यातका लागि सुविधा प्रदान गर्न आफ्नो देश तयार रहेको भभन्दै उनले यसले दुई देशबीचको व्यापार घाटा न्यूनीकरणका लागि सहयोग गर्ने बताए । ‘नेपाल बंगलादेशले लगानी विस्तार र व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने धेरै ठाउँ छन्,’ उनले भने । राजदूत चौधरीले नेपालको पर्यटन बंगलादेशका नागरिकका लागि पहिलो भ्रमण गन्तव्यको रूपमा रहेको पनि उल्लेख गरे ।

चौधरीले नीतिगत सुधार र उद्योगहरूलाई दिएको सहुलियत एवं संरक्षणका कारण बंगलादेशले धेरै क्षेत्रमा उल्लेख्य प्रगति गरेको बताउँदै नेपालले पनि त्यही नीति अनुसरण गर्न सक्ने सुझाव दिए । ‘बंगलादेश महिलाहरू र साना व्यवसायमा केन्द्रित हुँदा दीगो आर्थिक वृद्धिको आधार तयार गर्न सफल भयो,’ उनले भने ।

भेटवार्ताका क्रममा नेपाल उद्योग परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपालमा जलविद्युत क्षेत्रमा लगानीको ठूलो संभावना रहेको र त्यसमा बंगलादेशी लगानीकर्ता आकर्षित हुन सक्ने बताए । बंगलादेशलाई ऊर्जाको ठूलो आवश्यकता रहेको भन्दै उनले त्यो आवश्यकता परिपूर्ति गर्न नेपालाबाट विद्युत निर्यात एउटा महत्वपूर्ण विकल्प हुने उल्लेख गरे ।

अध्यक्ष अग्रवालले दुईदेशबीचको व्यापार र लगानी अभिवृद्धि गर्नका लागि द्विपक्षीय लगानी प्रवद्र्धन तथा संरक्षण सम्झौता गरेर अघि बढ्न सकिने बताए । अग्रवालले नेपालको अर्थतन्त्रमा उद्योगको हिस्सा अभिवृद्धि गर्ने, नेपालको निर्यात बढाउने र रोजगारी सिर्जना गर्ने उद्देश्यले परिसंघले मेक इन नेपाल – स्वदेशी अभियान अघि बढाएको जानकारी गराए । उनले यो अभियानको उद्देश्य नेपालको अर्थतन्त्रको संरचनामा परिवर्तन गराउनु रहेको र त्यसको नेतृत्व परिसंघले लिने पनि उल्लेख गरे ।

परिसंघका उपाध्यक्ष निर्वाणकुमार चौधरीले बंगलादेशी लगानीकर्तालाई सहजीकरण गर्न परिसंघ तयार रहेको बताए । उनले नेपाली उत्पादनलाई प्राथमिकता र सुविधा दिन पनि बंगलादेशलाई आग्रह गरे ।

परिसंघको कार्यालयमा भएको भेटवार्तामा परिसंघका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, राजबहादुर शाह र रोहित गुप्ताको उपस्थिति रहेका थियो । यसैगरी बंगलादेशी राजदूतावासको तर्फबाट मिनिस्टर तथा डेपुटी चिफ अफ मिसन इश्रात जहान र प्रथम सचिव अलाम्गिर इस्लाम खान एवं परिसंघ सचिवालयको तर्फबाट महानिर्देशक यादवप्रसाद पौड्याल र निर्देशक सविन मिश्रको उपस्थिति थियो ।

प्रकाशित मिति : १६ भाद्र २०७८, बुधबार १२:१०   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।