भारतीय रिजर्भ बैंकले नेपालमा पठाउने रेमिटेन्सको सिलिङ बढाएको छ । भारतबाट नेपालमा पैसा पठाउँदा एक पटकमा २ लाख भारु पठाउन सकिने प्रावधान बनाइएको छ ।
यसअघि एक पटकमा ५० हजार भारु मात्रै पठाउन सकिने व्यवस्था थियो । भारतबाट नेपालमा रेमिटेन्स पठाउन सकिने व्यवस्था सन् २००८ बाट शुरु गरिएको हो । त्यतिबेला एक पटकमा ५० हजार पठाउन सकिने र एक वर्षमा १२ वटा कारोबार मात्र गर्न सकिने नियम बनाइएको थियो । नेपालमा नेपाल एसबीआई बैंक र अन्य रेमिटेन्स कम्पनीहरु मार्फत प्राप्त गर्न सकिन्छ ।
रिजर्भ बैंकको यो प्रावधानले भारतमा रहेका नेपाली कामदार र भारतका विभिन्न सेवाबाट अवकाश प्राप्त गरी नेपालमा पेन्सन बुझिरहेकाहरुलाई सहज हुने अपेक्षा गरिएको छ ।
बैंकले हालै जारी गरेको सार्वजनिक सूचना अनुसार ५० हजारको सिलिङलाई बढाएर दुई लाख पुर्याउने र वर्षमा १२ कारोबार गर्ने व्यवस्थालाई हटाउने निर्णय गरिएको छ । तर, बैंकमा नै पुगेर नगद रकम दिने र नेपालमा पनि नगद नै बुझनेहरुको हकमा भने ५० हजारको सिलिङ कायम रहनेछ बैंकले जनाएको छ ।




















प्रतिक्रिया