Logo

कर्पोरेट फोकस

अब काठमाडौंका दोहोरी साँझ र नाइट क्लव संचालन हुने, स्वास्थ्य मापदण्ड अपनाएर राती २ बजेसम्म खोल्न सकिने



कोरोना महामारीका कारण जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी गरेको निषेधाज्ञाले बन्द अवस्थामा रहेका दोहोरी साँझ र नाइट क्लवहरु अब संचालन हुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले बिहीबारबाट निषेधाज्ञा हटाएसँगै दोहोरी साँझ र नाइट क्लबहरुलाई स्वास्थ्य मापदण्ड पालना गरेर संचालन गर्ने अनुमति मिलेको हो ।

काठमाडौंका जिल्ला प्रमुख अधिकारी (सीडीओ)कालीप्रसाद पराजुलीका अनुसार शुक्रबार सरोकारवालाहरुसँगको छलफलपछि आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्ने सर्तमा दोहोरी साँझ र नाइट क्लबहरुलाई संचालन अनुमति दिइएको हो ।

यसरी संचालन अनुमति पाएका क्षेत्रको लागि निश्चित समयसिमा पनि तोकिएको छ । दोहोरी साँझ राती १२ बजेपछि संचालन गर्न पाइने छैन भने नाइट क्लबको हकमा राती २ बजेसम्म संचालन गर्न पाइने छ ।

त्यस्तै जिल्ला प्रशासन कार्यालयले सिनेमा हल संचालन गर्न पनि अनुमति दिएको छ । स्वास्थ्य मापदण्ड पालना गरेर क्षमताको अधारमा ५० प्रतिशत मात्र दर्शक राखेर हल चलाउन निर्देशन दिइएको सीडीओ पराजुलीले जानकारी दिए ।

वैशाख १६ गतेदेखि काठमाडौंमा जारी भएको निषेधाज्ञा बिहीबारदेखि विद्यालयबाहेक अन्य सबै क्षेत्र खुल्ला गरिएको छ । यसरी खुल्ला भएको क्षेत्रमा मापदण्ड पूरा भए नभएको नियमित अनुगमन हुने सीडीओ पराजुलीले जानकारी दिए । तर अझैपनि काठमाडौं उपत्यकाभित्र भिडभाड, सभा जुलुस, जात्रा महोत्सव गर्न भने पाइने छैन ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार १३:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।