गएको शुक्रबार काठमाडौंबाट श्री एअरलाइन्सको विमानमा नेपालगंज पुगेका दुई युवाको साथबाट बरामद भएको ४ किलो सुनको प्रहरीले फेहरिस्त लगाएको छ ।
झापा घर भएका अमिर लगुन विश्वकर्मा र मोरङ घर भएका बुद्धिमान खातीको साथबाट नेपालगंजको राझाँ विमास्थलमा प्रहरीले ४ किलो २१ दशमलव ४९ ग्राम सुन बरामद गरेको थियो । उनिहरुले सुन जुत्तामा लुकाएर लगेको फेला परेको थियो ।
काठमाडौंबाट नेपालगंज जाने क्रममा सुन बोकेर त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलबाट सहजै पार गरेका विश्वकर्मा र खातीको साथमा भएको सुन एक्सरे मेशिन र मेटल डिटेक्टरले ‘डिटेक्ट’ गरेर समेत पत्ता लगाउन सकेन ।
तरपनि सुन बरामद गर्न सफल भएको बाँकेका प्रहरी उपरीक्षक (एसपी) श्यामकृष्ण अधिकारीले बताए । उनका अनुसार विमान अवतरण हुनुभन्दा १० मिनेटअघि अवैध सुन लिएर २ जना युवा नेपालगंज आइरहेको सुराक प्रहरीले पाएको थियो ।
सुन लिएर दुईजना आउँदै गरेको भन्ने सुराकको अधारमा विमानस्थलमा अपरेशन चलाएपछि जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विश्वकर्मा र खातीले जुत्ताको तलुवामा लुकाएर ल्याएको अवस्थामा ४ किलो सुनको बिस्कुट र २१ दशमलव ५९ ग्राम तयारी गहना सहित उनिहरुलाई नियन्त्रणमा लिन सफल भयो ।
२६ वर्षका अमिर र २८ वर्षीय बुद्धिमानले काठमाडौंको मैतिदेवीमा रहेको बुद्ध ज्वेलर्सबाट सुन लिएर गएका थिए । बुद्ध ज्वेलर्सले नेपालगंज उपमहानगरपालिकामा रहेका ३ वटा सुन पसलका नाममा बिल काटेको थियो । बुद्ध ज्वेलर्सले बिल जारी गरेपनि राष्ट्रबैंकभन्दा बाहिरबाट आएको हुनाले थप अनुसन्धानका लागी राजस्व अनुसन्धान कार्यालय कोहलपुरमा सुन बुझाइएको एसपी अधिकारीले जानकारी दिए ।
सुन लैजाने युवा भरिया मात्रै भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । नेपालगंजका सुन ब्यापारीले सुन किन्नका लागी आवश्यक ३ करोड १३ लाख रुपैयाँ बैंकिङ्ग बाटोबाट वा हुण्डीको माध्यमबाट पैसा पठाए भन्नेबारे पनि राजस्व अनुसन्धान कार्यालयले अनुसन्धान सुरु गरेको छ । राजस्वले सुन बेच्ने र किन्ने ब्यापारीमाथि पनि अनुसन्धान शुरु गरेको जनाएको छ ।




















प्रतिक्रिया