कोरोना महामारीका कारण अति प्रभावित क्षेत्रको सूचीमा परेको नेपालको पर्यटन क्षेत्रलाई खुला भएको घोषणा गर्न व्यवसायिहरुको माग गरेका छन् । कोरोना संक्रमण दर घट्दो क्रममा रहेकाले पर्यटक आवागमन सहज बनाउन र पर्यटन क्षेत्रमा लगाइएका असहजता हटाउँदै खुला भएको घोषणा गर्न व्यवसायीहरुले माग गरेका हुन् ।
उनिहरुले अग्रपंक्तिमा सेवा दिने सबै पर्यटनकर्मीले भ्याक्सिन लगाइसकेको सन्दर्भमा अब पर्यटन क्षेत्र खुला भएको घोषणा गर्न सरकारको ध्यानाकर्षण गराए ।
नेपाल पर्यटन बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीइओ) दीपकराज जोशीको संयोजनमा काठमाडौंमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी पर्यटन व्यवसायिले तत्कालै पूर्ण डोज खोप लगाएका पर्यटकलाई क्वारेन्टिनमा बस्नु नपर्ने, पर्यटकलाई अनअराइभल भिषा उपलब्ध गराउनु पर्ने, सुरक्षित गन्तव्य र गतिविधि पहिचान गरि प्रचार गर्नुपर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पीसीआर र एन्टिजेन परीक्षण गर्ने व्यवस्था मिलाई पर्यटकको भ्रमण सहज बनाउन सरकारसँग माग गरे ।
पूर्व सीइओ जोशीले आफूले गरेको अध्ययनमा मुख्य पर्यटकीय गन्तव्यमा काम गर्ने ९५ प्रतिशतभन्दा बढी कर्मचारीले पूर्ण डोज नै खोप लगाएको पाएको जानकारी दिदैं थलिएको पर्यटन क्षेत्रलाई उकास्न सक्दो पहल गर्ने बताए ।
त्यस्तै ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)की महासचिव सरिता लामाले पर्यटक आउने सिजन (सेप्टेम्बर –नोभेम्बर) बाट पनि व्यवसायीले लाभ लिन नपाउने जोखिम रहेको भन्दै सरकारले समयमै निर्णय गर्न नसक्दा समस्या परेको बताइन् ।
पाटा अन्तर्राष्ट्रियका सचिव एवं पर्यटन व्यवसायी सुमन पाण्डेले खोप लगाएका पर्यटकलाई क्वारेन्टिनको प्रावधान हटाउँदै अनअराइभल भिषा दिनुपर्ने भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नै एन्टिजेन र पीसीआर परीक्षण गर्ने व्यवस्था गर्नुपर्ने धारणा राखे ।
अध्यागमन विभागका निर्देशक झंकनाथ ढकालले पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा पर्यटक भिषा दिनु पर्ने गरी मन्त्रीपरिषद्को बैठकले निर्णय गरेकाले ट्राभल एडभाइजरी जारी गर्न नसकिएको र अनअराइभल भिसा पुनः सुचारु गर्ने निर्णय गराउन आफु सकारात्मक भएको प्रतिक्रिया दिए ।
होटल एसोशियन नेपाल (हान)की अध्यक्ष सिर्जना राणाले पर्यटकिय गन्तव्य खुला गर्नुको साथै नेपाल पर्यटन बोर्डले नेपालका गन्तव्यको बारेका सकारात्मक सूचना प्रवाह गर्नुपर्ने बताइन् । कार्यक्रममा नेपाल पर्यटन बोर्डका मार्केटिङ विभाग प्रमुख लक्ष्मण गौतमले व्यवसायीका माग सम्बोधनका लागि आफूहरूले मन्त्रालयसँग समन्वय गरिरहेको जानकारी दिए ।




















प्रतिक्रिया