Logo

कर्पोरेट फोकस

बजेट प्रतिस्थापन विधेयक बिहिबार संसदमा पेश गर्ने तयारी, बजेटको आकार र राजश्व दरमा हेरफेर हुने



अघिल्लो सरकारले चालू आर्थिक वर्ष ०७८/०७९ का लागि ल्याएको बजेट अर्थमन्त्रालयले प्रतिस्थापन गर्ने तयारी सकेको छ । अर्थमन्त्री जनार्दन शर्माले प्रतिस्थापन विधेयक तयार गरी बिहीबार संसदमा पेश गर्ने तयारी गरेका छन् ।

बुधबारबाट संसद अधिवेशन सुरु भएपछि भोलिपल्ट भदौ २४ गते सरकारले प्रतिनिधिसभामा विधेयक पेश गर्न लागेको हो । यो सरकार केपी ओली नेतृत्वको सरकारले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापनका लागि संसदमा विधेयक पेश गर्न लागिपरेको छ ।

ओली सरकारले ल्याएको बजेट अध्यादेश असोजदेखि स्वतः निष्क्रिय हुनेछ । प्रतिस्थापन विधेयकमार्फत बजेटको आकारमा समेत हेरफेर हुने अर्थ मन्त्रालय स्रोतले जनाएको छ । प्रतिस्थापन विधेयकमा बजेट परिमार्जका विषय पनि समेटिएको मन्त्रालयका आर्थिक सल्लाहकार डा. सुरेन्द्रराज उप्रेतीले बताए ।

अर्थमन्त्री जनार्दन शर्माले राजश्व वृद्धिदर दोब्बर बनाउन निर्देशन दिएकाले राजश्वको दरमा हेरफेर गरिएको बुझिएको छ । ओली सरकारले चालू आर्थिक वर्षका लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट विनियोजन गरेको थियो ।

सरकारले ३ खर्ब रुपैयाँभन्दा बढीका सडक आयोजना स्रोत सुनिश्चित नगरी बढाएको भन्दै यसलाई रोक्न निर्देशन दिइसकेको छ । सामाजिक सुरक्षा भत्ता र कर्मचारीको तलवमा हेरफेर नगरिएको मन्त्रालय  स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार ११:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।