महालेखा नियन्त्रकको कार्यालयले तलब भत्ता र पेन्सन बाहेक कुनैपनि शिर्षकमा बजेट निकासी नगर्न सूचना जारी गरेको छ । अर्थ मन्त्रालयले चालु बजेटको कुनैपनि शिर्षकमा बजेट निकासा नदिन भनेपछि महालेखाले सुचना जारी गरेको हो ।
महालेखाले निकासा दिने कोष तथा लेखा नियन्त्रक, प्रदेश लेखा नियन्त्रक र प्रदेश लेखा इकाई कार्यालयलाई ३ दिन भुक्तानी रोक्न भनेको हो ।
शुक्रबार प्रतिस्थापन विधेयक दर्ता भएपछि आइतबारबाट भुक्तानी सुरु हुने महालेखाले जनाएको छ । सरकारले बजेट अध्याधेशलाई संशोधन गर्ने भएपछि सोही अनुसार बजेट निकासा रोकेको हो ।
सरकारले २५ गते संघिय संसदमा प्रतिस्थापन विधेयक दर्ता गराउने तयारीमा छ । सो विधेयक दर्ता भएपछि सोहि अनुसार कार्यान्वयनमा जाने कार्यालयको भनाई छ । हालसम्म भैसकेको भुक्तानीलाई स्वीकृति दिने कार्यालयको भनाई छ ।
यस अवधिमा निकासा भई बजेटमा भएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्बन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने महालेखाले उल्लेख गरेको छ ।





















प्रतिक्रिया