सरकारले ल्याएको प्रतिस्थापन बजेटले सवारी एसेम्बल उद्योगलाई अन्तशुल्कमा ५० प्रतिशत छुट दिने घोषणाको नाडा अटोमोबाइलस एसोसियसनले स्वागत गरेको छ । नाडाले विगत दश वर्षदेखि एसेम्बलिङ उद्योग स्थापनाका लागि अन्तशुल्क र भन्सार महसुल दुबैमा ५० प्रतिशत छुट माग गर्दै आएकोमा अन्तशुल्कमा मात्रै छुट दिएपनि स्वागत योग्य भएको जनाएको छ ।
नाडा अध्यक्ष कृष्ण दुलालले प्रतिस्थापन बजेटको उक्त घोषणा एसेम्बलिङ उद्योगले महत्वपूर्ण फड्को मार्ने विश्वास लिएको बताए । उनले एक दशक अघि गरेको प्रस्ताव अहिले कार्यान्वयनमा आएको भन्दै यसले मुलुकमै सवारीसाधनको एसेम्बलको युग सुरु हुने विश्वास गरे । दुलालले भने– ‘यस अगाडि हामीलाई २५ प्रतिशत मात्र छुट दिइएको थियो। यसबाट हाम्रो उत्पादन खर्च नै पुग्दैनथ्यो। अब उद्योगी र ग्राहक सबैले राहत पाउँछन्। र एसेम्बली प्लान्ट नखोलेका कम्पनीले पनि खोल्नुपर्ने अवस्था आएको छ ।’
सवारी एसेम्बलमा छुट दिएपनि नाडाले दुई पाङ्ग्रे (मोटरसाइकल) सवारीको सडक निर्माण दस्तुर र अन्तःशुल्क बढाएकोमा भने विरोध जनाएको छ । कोरोना महामारीको समयमा सार्वजनिक प्रयोजनका सवारी साधनको विकल्पमा मोटरसाइकलको प्रयोगमा अत्याधिक वृद्धि भएको समयमा हत्तोसाहित गर्ने काम भएको अध्यक्ष दुलालले बताए ।
सरकारले उद्योग संचालनलाई प्रोत्साहन गर्ने बजेट ल्याएपनि इन्ट्री लेवलको बाइकलाई पावर सेगमेन्टसँग गाभेर अन्तःशुल्कको प्रावधान ल्याउन नहुने नाडाका उपाध्यक्ष करण चौधरीले बताए । १२५ देखि १५५ सीसी इन्जिन युक्त दुईपाङ्ग्रे सवारीसाधनलाई प्रोत्साहन गर्न आवश्यक रहेको उपाध्यक्ष चौधरीले बताए।





















प्रतिक्रिया