Logo

कर्पोरेट फोकस

तीन महिनामै २३ अर्बभन्दा बढी बीमा दाबी भुक्तानी, जीवन बीमकबाट १५ अर्ब र निर्जीवनबाट ७ अर्ब



काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा बीमा कम्पनीहरूले २३ अर्ब रुपैयाँभन्दा बढी दाबी भुक्तानी गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि असोजसम्म जीवन र निर्जीवन बीमा कम्पनीहरूले कुल २३ अर्ब १ करोड २० लाख रुपैयाँ दाबी भुक्तानी गरेका हुन् ।

कुल भुक्तानीमध्ये जीवन बीमा कम्पनीहरूको हिस्सा बढी छ । समीक्षा अवधिमा जीवन बीमकहरूले ७७ हजार ७०९ वटा दाबीबापत १५ अर्ब १० करोड ८६ लाख रुपैयाँ भुक्तानी गरेका छन् । त्यस्तै, निर्जीवन बीमा कम्पनीहरूले ४१ हजार ३९४ वटा दाबीबापत ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका छन् ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा दुवै क्षेत्रको दाबी भुक्तानी बढेको छ । जीवन बीमा कम्पनीहरूले अघिल्लो वर्ष असोजसम्म ५८ हजार ८६३ वटा दाबीबापत ११ अर्ब ५७ करोड ५३ लाख रुपैयाँ भुक्तानी गरेका थिए । यस वर्ष दाबी भुक्तानीको संख्या ३२.०२ प्रतिशत र रकम ३०.५२ प्रतिशतले बढेको हो ।

तर, भुक्तानी भएको दाबीको संख्या र रकम बढे पनि जीवन बीमा क्षेत्रमा भुक्तानी हुन बाँकी दाबीको चापसमेत उल्लेख्य रूपमा बढेको देखिन्छ । असोज मसान्तसम्म जीवन बीमकहरूमा १ लाख २३ हजार ४८४ वटा दाबी भुक्तानी हुन बाँकी छन् । ती दाबीबापत कम्पनीहरूले ९ अर्ब ९१ करोड ५३ लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ ।

अघिल्लो वर्षको असोजसम्म यस्तो संख्या ५७ हजार ३२१ र भुक्तानी हुन बाँकी रकम ४ अर्ब ९१ करोड ४ लाख रुपैयाँ थियो । एक वर्षको अवधिमा भुक्तानी हुन बाँकी दाबी संख्या ११५.४३ प्रतिशत र रकम १०१.९२ प्रतिशतले बढेको हो ।

यता, निर्जीवन बीमा कम्पनीहरूको दाबी भुक्तानी रकममा भने ४० प्रतिशतभन्दा बढीको वृद्धि देखिएको छ । चालु आर्थिक वर्षको असोजसम्म निर्जीवन बीमकहरूले ४१ हजार ३९४ वटा दाबीबापत ७ अर्ब ९० करोड ३३ लाख रुपैयाँ भुक्तानी गरेका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३२ हजार ६१५ वटा दाबीबापत ५ अर्ब ६४ करोड २ लाख रुपैयाँ भुक्तानी भएको थियो । यसअनुसार दाबी भुक्तानीको संख्या २६.९२ प्रतिशत र रकम ४०.१२ प्रतिशतले बढेको हो ।

निर्जीवन बीमा क्षेत्रमा पनि भुक्तानी हुन बाँकी दाबीको रकम ठूलो देखिएको छ । असोज मसान्तसम्म १ लाख १३ हजार २५ वटा दाबी भुक्तानी हुन बाँकी छन् । ती दाबीबापत कम्पनीहरूले ६० अर्ब ५ करोड ७० लाख रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।

अघिल्लो वर्षको असोजसम्म निर्जीवन बीमकहरूमा १ लाख १० हजार २५८ वटा दाबीको ५२ अर्ब २० करोड ४० लाख रुपैयाँ भुक्तानी हुन बाँकी थियो । यस वर्ष दाबी संख्या २.५१ प्रतिशत र भुक्तानी हुन बाँकी रकम १५.०४ प्रतिशतले बढेको हो ।

यसरी हेर्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा बीमा कम्पनीहरूले २३ अर्बभन्दा बढी दाबी भुक्तानी गरे पनि जीवन र निर्जीवन दुवै क्षेत्रमा भुक्तानी हुन बाँकी दाबीको आकार ठूलो छ । विशेषगरी निर्जीवन बीमा कम्पनीहरूमा मात्रै ६० अर्ब रुपैयाँभन्दा बढीको दाबी भुक्तानी हुन बाँकी रहनुले बीमा क्षेत्रको भुक्तानी दायित्व र दाबी व्यवस्थापनलाई चुनौतीपूर्ण बनाएको तथ्यांकले देखाउँछ ।

प्रकाशित मिति : २४ कार्तिक २०८३, मंगलवार १२:३८   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।