Logo

कर्पोरेट फोकस

दुवै मात्रा खोप लगाएका पर्यटकले क्वारेन्टाइनमा बस्नु नपर्ने, अनअराइभल भिसाको सुविधा हुने



सरकारले कोभिड–१९ का कारण थला परेको पर्यटन क्षेत्रलाई राहत दिने गरी विदेशी पर्यटक आगमनमा लचकता अपनाउने भएको छ । व्यवसायिहरुको जोडबल र थला परेको पर्यटन व्यवसायलाई राहत दिने गरी पर्यटकलाई नेपाल भ्रमणमा सहज बनाउन पर्यटन मन्त्रालयले प्रक्रिया थालेको छ ।

मन्त्रालयले दुवै मात्रा कोरोना विरुद्धको खोप लगाएका पर्यटकलाई नेपाल भ्रमणको लागि अनुमति दिन मन्त्रिपरिपरिषद्‍मा प्रस्ताव गरेको छ । पर्यटक आवागमनमा सरलीकरण गर्दै मन्त्रिपरिषद्‍मा पत्राचार गरिसकेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइरालाले बताए । उनका अनुसार आवश्यक गृहकार्य गरेर विदेशी पर्यटकलाई नेपाल भ्रमणका लागि प्रोटोकल बनाएरै क्याबिनेटमा प्रस्ताव पेश गरिएको छ ।

मन्त्रालयले बनाएको नयाँ प्रोटोकल अनुसार अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई हटाइएको छ । अब दुवै मात्रा खोप लगाएर आएका पर्यटकले पीसीआर रिपोर्ट नेगेटिभ भएको आधारमा नेपाल भ्रमण गर्न पाउनेछन् ।

मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले खोप सहज हुँदै गए पर्यटकको नेपाल आगमन बढ्ने अपेक्षा गरिएको बताए । उनले विदेशी पर्यटकको भ्रमण सहजताका लागि अनअराइभल भिसाको सुविधा कायमै रहने जानकारी दिए ।

काठमाडौं पर्यटन क्षेत्र सम्बद्ध व्यवसायी र विज्ञले तत्काल कोभिडविरुद्धको खोप लगाइसकेका विदेशी पर्यटकलाई निर्वाध रुपमा नेपाल भ्रमणको इजाजत दिन माग गर्दै आएका छन् । खोप लगाइसकेका र नेपाल आइपुग्दा ९६ घन्टा ननाघेको परीक्षणपत्र लिएर आउने पर्यटकलाई बिना क्वारेन्टिन प्रवेश र सहज यात्राको वातावरण बनाउन माग गरेका हुन् ।

पर्यटन बोर्डका अनुसार सन् २०१९ को तुलनामा २०२० मा आउने पर्यटक आगमन संख्यामा ८१ प्रतिशतले गिरावट आएको छ । कोरोना महामारीका कारण व्यापार ठप्प हुँदा प्रत्यक्ष, अप्रत्यक्ष र प्रत्यक्ष सप्लाई चेन गरी पर्यटन क्षेत्रमा सृजित करीब १० लाख जनशक्तिको रोजगार संकटमा छ ।

चार खर्ब भन्दा बढी बैंक तथा वित्तीय क्षेत्रको मात्रै लगानी रहेको पर्यटन क्षेत्र निकै जोखिममा रहेको व्यवसायीले जनाएका छन् । व्यवसायीले तयार पारेको विवरण अनुसार २५ प्रतिशतभन्दा बढी पर्यटन व्यवसाय तथा उद्यम बन्द भएका छन् ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार १६:३४   :  बजे

270
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।