दशैं-तिहारताका हुने महँगीबाट सर्वसाधारणलाई केहि राहत दिने उदेश्यले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भोली (असोज १ गते)देखि विभिन्न जिल्लामा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ ।
सदाझैं यस वर्ष पनि दशैं, तिहार र छठ पर्वलाई ध्यानमा राखेर सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको कम्पनीले जनाएको छ । कम्पनीको कार्यालय रहेका ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन हुनेछन् ।
सुपथ मूल्य पसलमा चामल, दाल, चिउरा, पिठो र तेलमा ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । त्यस्तै, भटमासको तेल, मासु र कर्णालीको सिमीमा १० रुपैयाँ छुट दिने व्यवस्था गरिएको छ । जिउँदो खसी र बोकाको पनि प्रतिकेजी १० रुपैयाँ छुटको व्यवस्था गरिएको छ ।
काठमाडौं उपत्यकामा खाद्य कम्पनीको थापाथली, रामशाहपथ, नक्खु, लगनखेल र सूर्यविनायक बिक्री केन्द्रबाट सुपथ मूल्यमा खाद्य सामग्री बिक्री वितरण हुने सुवेदीले बताइन् ।
यस्तै, उपत्यकाबाहिर बनेपा, विराटनगर, बिर्तामोड, हेटौंडा, नारायणगढ, भैरहवा, बुटवल, नेपालगञ्ज, पोखरा, दाङ, सुर्खेत, धनगढी, महेन्द्रनगर, डडेलधुरालगायत स्थानबाट खाद्य वस्तु बिक्री वितरण हुनेछ ।
यससँगै साल्ट ट्रेडिङ कर्पोरेशन र दुग्ध विकास संस्थानले पनि आफ्ना बिक्री केन्द्रमा सुपथ मूल्य पसल सञ्चालन गर्ने भएका छन् । यी सबै सुपथ मूल्य पसल १ असोजबाट २४ कात्तिकसम्म सञ्चालन हुनेछन् ।




















प्रतिक्रिया