अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको पैसा उत्पादनमूलक क्षेत्रमा लगानी गर्न निर्देशन दिएका छन् । कोषको ६० औं बार्षिकोत्सव समारोहको ‘भर्चुअल’ उद्घाटन गर्दै मन्त्री शर्माले सञ्चयकर्ताको पैंसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरी लाभको दायरा विस्तार गर्न निर्देशन दिएका हुन् ।
उनले सञ्चयकर्ताको पैंसालाई उत्पादनमूलक क्षेत्रमा लगानी गरे राष्ट्रिय पुँजी निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘उत्पादन क्षेत्रमा गरिएको लगानीले रोजगारी सिर्जना गर्छ र व्यापार घाटा कम गर्न सहयोग गर्छ,’ उनले भने । उनले सञ्चयकर्ताहरुको बोनस रकमलाई समेत उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने व्यवस्था मिलाउनुपर्ने बताए ।
मन्त्री शर्माले कोषले संस्थागत सुशासनमा ध्यान दिनुपर्ने र कार्यप्रणालीलाई अझै प्रविधिमैत्री बनाई सञ्चयकर्ताहरुको लागि सहज वातावरण सृजना गर्नुपर्ने धारणा व्यक्त गरेका छन् ।
सञ्चय कोषको आर्थिक वर्ष २०७७र७८ सम्म कुल लगानी ४ खर्ब ३६ अर्ब ५४ करोड पुगेको जनाएको छ । हाल कोषमा ३ खर्ब ९८ अर्ब ६ करोड रुपैयाँ मौज्दात रहेको छ । निवृत्तभरण कोषमा एक अर्ब ५८ करोड छ । कोषको दायित्व ४ अर्ब ६७ करोड रहेको छ । कोषले आफ्नो ६०औं बार्षिकोत्सवका अवसरमा लगानी र मौज्दात रहेको रकमको प्रतिवेदन सार्वजनिक गरेको हो ।
सामाजिक सुरक्षा योजनाअन्तर्गत कोषले सञ्चयकर्ताहरुको लागि ७ हजार ५ सयका दरले दुई पटकसम्म प्रसुती खर्च उपलब्ध गराउँछ । सञ्चयकर्ताको सेवाकालमा दुर्घटनामा परी मृत्यु वा पूर्ण अङ्गभङ्ग भएमा २ लाख प्रदान गर्छ ।




















प्रतिक्रिया