Logo

कर्पोरेट फोकस

आजदेखि सुपथ मूल्यका पसल सञ्चालन, खाद्यवस्तुमा १० रुपैंयाँसम्म छुट



सरकारले आजदेखि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयोजनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी, साल्ट ट्रेडिङ कर्पोरेसन, दुग्ध विकास संस्थानले दसैं–तिहार–छठजस्ता चाडपर्वमा सदाझैं यसपटक पनि सुपथ मूल्यका पसल सञ्चालनमा ल्याएको हो ।

सुपथ मूल्यका पसलमा खाद्यवस्तु लगायत खसी, बोका र च्याङ्ग्रा पनि किन्न पाइनेछ । सुपथ मूल्यका पसलमा अन्य पसलमा भन्दा कम मूल्यमा सामान किन्न पाइनेछ । सुपथ मूल्यका पसलमा सामान खरिद गरे उपभोक्ताले प्रतिकेजी दुई रूपैयाँदेखि १० रूपैयाँसम्म छुट पाउनेछन् ।

सुपथ मूल्यका पसल कात्तिक २४ गतेसम्म सञ्चालन गरिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायणप्रसाद रेग्मी बताउँछन् । उनकाअनुसार देशभर ३९ स्थानमा यस्ता पसल रहनेछन् । चिनी, नुन, चामल, खसी–बोका, घ्यू, पनिरजस्ता सामान सुपथ मूल्यका पसलबाट किन्न सकिनेछ ।

सुपथ पसलमा चामल किनेमा प्रतिकेजी ५, सिमी तथा फापर खरिदमा प्रतिकेजी १०, नुन प्रतिकेजी २, चिनी प्रतिकेजी ५, खसी–बोका प्रतिकेजी १० रूपैयाँ छुट पाइनेछ ।

सुपथ मूल्यका पसलबाट विक्री गर्न खाद्य कम्पनीले एक हजार च्याङ्ग्रा र दुई हजार खसी–बोका खरिद गर्ने प्रक्रिया सुरू गरिसकेको जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार १३:२४   :  बजे

192
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।