Logo

स्वास्थ्य

आकस्मिक सेवासहित नगर अस्पताल सञ्चालनमा



प्रस्तावित गैँडाकोट नगर अस्पतालले आकस्मिक सेवासहित चौबीसै घण्टा सेवा प्रदान शुरुआत गरेको छ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व) को गैँडाकोट-११ भेडाबारीमा रहेको अस्पतालले बुधबारदेखि दुई श्ययाको आकस्मिक कक्षसहित सेवा शुरु गरेको हो । नगरपालिकाका जनस्वास्थ्य प्रमुख झलकराज पौडेलले अस्पतालको फार्मेसी, एक्सरे, भिडियो एक्सरे, प्रयोगशाला सेवा चौबीसै घण्टा सञ्चालनमा ल्याउने तयारी भएको जानकारी दिएका छन् । 

हरेक स्थानीय तहमा १५ श्ययाको अस्पताल निर्माण गर्ने सरकारी नीतिअनुरुप नगर अस्पतालमा दुई आकस्मिक श्यया थप गर्दै १५ श्ययाबाट बिरामीलाई सेवा प्रदान गरिएको उनले बताए  । अस्पतालले सेवा विस्तार गरेसँगै दुई चिकित्सक र २२ स्वास्थ्यकर्मी बिरामीको उपचारमा खटिने छन् । नगरप्रमुख छत्रराज पौडेलले गैँडाकोट नगर अस्पतालबाट जनस्वास्थ्य सेवाअन्तर्गत बालरोग, पोषण, महामारी नियन्त्रण व्यवस्थापन, खोपका कार्यक्रम, गाउँघर क्लिनिकलगायतका स्वास्थ्य सेवा प्रदान गरिने जानकारी दिएका छन्  ।

दुर्घटनाका घाइते बढी लाभान्वित हुने छन् । “पूर्वपश्चिम राजमार्गको यस क्षेत्रमा बढी दुर्घटना हुने गरेका छन्”, उनले भने , “हामीले यहाँ प्राथमिक उपचार दिएर थप उपचारका लागि भरतपुर पठाउन सक्ने अवस्थामा पुगेका छौँ । यसले दुर्घटनाका घाइतेको जीवनरक्षाका लागि थप मद्दत पुग्छ ।” 

नगर अस्पताललाई अझ व्यवस्थित बनाउँदै लैजाने तयारीमा नगरपालिका जुटेको छ । यस क्षेत्रमा राजमार्ग विस्तारको काम भइरहेकाले नगर अस्पतालबाट धेरैलाई लाभ पुग्ने उनको भनाइ छ ।  

प्रकाशित मिति : २७ फाल्गुन २०७७, बिहीबार १५:०५   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।