नेपाल भ्रमण गर्न चाहने विदेशी पर्यटकलाई सरकारले शर्तसहित अनअराइभल भिसा दिने भएको छ । कोरोना संक्रमणको कारण २०७६ फागुनदेखि रोकिएको पर्यटक अवागमन सुचारु गर्न सरकारले शर्तसहित अनअराइभल भिसा खुला गरेको हो ।
अनअराइभल भिसाको अर्थ नेपाल भ्रमणमा आउने विदेशी पर्यटकले विमानस्थलबाटै भिसा पाउने प्रावधान हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘विदेशबाट नेपाल आगमन हुने र नेपालबाट प्रस्थान गर्ने यात्रुको यात्रा व्यवस्थापनसम्बन्धी आदेश २०७८’ सार्वजनिक गर्दै यस्तो व्यवस्थाबारे जानकारी गराएको हो ।
सरकारले कोरोना संक्रमण कम हुँदै गएको र खोपको मात्र पूरा गर्नेको संख्या बढेको विश्लेषण गर्दै प्रचलित कानून अनुसार अनअराइभल भिसा दिने निर्णय भएको पर्यटन मन्त्रालयले जनाएको छ ।
कोभिड १९ विरूद्धको दुबै मात्रा खोप लगाएका र नेपाल प्रवेश गर्नु ७२ घण्टाभित्र कोरोना परीक्षण रिपोर्ट नेगेटिभ भएका विदेशी पर्यटकले क्वारेन्टिन पनि बस्न नपर्ने निर्णय गरेको हो ।
सरकारको यस्तो निर्णयले कोभिड सुरू हुनुअघि जुन–जुन मुलुकका नागरिकाले अनअराइल भिसा पाउँथे, ती मुलुकका नागरिकले अब अनअराइभल भिसामा नेपाल आउन सक्नेछन् ।
यस्तै स्थलमार्गबाट नेपाल प्रवेश गर्ने भारतबाहेक अन्य मुलुकका नागरिकको हकमा कोभिड–१९ विरुद्धको खोपको मात्रा पूरा गरेको, नेपाल प्रवेश गर्नुभन्दा ७२ घण्टाभित्र कोभिड १९ को परीक्षण रिपोर्ट नेगेटिभ भएको, विदेशस्थित सम्बन्धित नियोगबाट नेपाल प्रवेशको लागि भिसा लिएको र दफा आवश्यक कागजात पेश गर्ने विदेशी नागरिकलाई अध्यागमन विन्दूमा एण्टीजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएमा स्थलमार्गबाट नेपाल प्रवेशको अनुमति दिने भएको छ ।
यसअघि कोरोनाको पहिलो लहर मत्थर भएपछि पर्यटकलाई नेपाली दूतावासबाट भिसा लिएर नेपाल आउन दिइएको थियो । तर, वैशाखदेखि दोस्रो लहर फैलिन थालेपछि सरकारले अन्तर्राष्ट्रिय उडानसँगै पर्यटक आवागमनमा पनि बन्द गरेको थियो ।
कोभिडको कहर कम हुँदै गएपछि सरकारले विदेशी पर्यटकको आवागमन सहज बनाउने निर्णय गरेका कारण व्यवसायिहरुमा उत्साह छाएको छ ।





















प्रतिक्रिया