गत सोमबार बुद्ध एयरको प्रविधिक समस्या आएको नाइन–एनएनआईको एटिआर जहाजलाई सुरक्षित अवतरण गराएका पाइलट कारवाहीमा परेका छन् । जहाजलाई सुरक्षित अवतरण गराएको भनेर सामाजिक सञ्जालमा प्रशंसा कमाइरहेका जहाजका पाइलट आङ्गेलु शेर्पालाई कम्पनीले कारवाही स्वरुप ‘ग्राउण्डेड’ गरेको छ ।
चक्का नखुलेर अवतरणमा प्रविधिक समस्या आएको जहाज यतिखेर आकाशमा उडिरहेको छ भने पाइलट ग्राउण्डेड भएका छन् । नागरिक उड्डयन प्राधिकरण (क्यान)को नियमअनुसार पाइलटलाई ग्राउण्डेड गरिएको बुद्ध एयरले जनाएको छ ।
कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले उक्त घटनाका सम्बन्धमा क्यान र कम्पनीले समेत छानविन गरिरहेकाले पाइलटलाई नियमानुसार ग्राउन्डेड गरिएको बताए । छानविन प्रतिवेदन नआउँदासम्मका लागि शेर्पालाई विमान चलाउन रोक लगाइएको हो ।
जहाज उडानको समयमा कुनै समस्या आएमा क्यानले पाइलटमाथि पनि छानविन गर्ने भएकाले छानविनको रिपोर्ट नआउँदासम्म शेर्पाले आफ्नो लाइसेन्स प्रयोग गर्न पाउने छैनन् ।
तर प्राधिकरणले प्राविधिक समस्या देखिएको जहाजलाई २४ घन्टाभित्रै उडान अनुमति दिएको थियो भने जहाज अहिले पनि पूर्ववतरुपमा उडान भरिरहेको छ ।




















प्रतिक्रिया