Logo

अर्थ

राष्ट्र बैंकले थप २० अर्बको रिपो जारी गर्दै



बैंकहरुमा देखिएको लगानीयोग्य रकम (तरलता) अभाव कम गराउने उदेश्यले नेपाल राष्ट्र बैंकले २० अर्ब रुपैंयाँ बराबरको रिपो जारी गर्न लागेको छ । तरलता अभावको समस्यालाई सम्बोधन गर्न राष्ट्र बैंकले आज बिहीबार बजारमा थप २० अर्ब रुपैयाँ रिपो जारी गर्न लागेको हो ।

राष्ट्र बैंकले १४ दिनको अवधिका राखेर रिपो मार्फत बजारमा नगद प्रवाह गर्ने भएको हो । तरलता अभाव भएका इजाजत प्राप्त ‘क’ ‘ख’ र ‘ग’ वर्गका बैंकहरुले रिपोका लागि आवेदन दिन सक्नेछन् ।

बजारमा तरलता अभावको समस्यालाई ध्यानमा राख्दै राष्ट्र बैंकले रिपो मार्फत नगद प्रवाह गर्दै आएको छ । केही दिन अघि मात्र बैंकले रिपो मार्फत बजारमा १० अर्ब रुपैयाँ पठाएको थियो ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा निक्षेप संकलन दर भन्दा कर्जा माग बढ्न गई तरलता अभावको सिर्जना भएको बताइएको छ । निक्षेप संकलन दर बढाउनकै लागि पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रहरुले आफु खुशी निक्षेपको ब्याजदर वृद्धि गरेका छन् ।

हाल बैंकहरुले निक्षेपमा अधिकतम ९.३७ प्रतिशतसम्म ब्याजदर प्रदान गरिरहेका छन् । तथापि, बजारमा तरलता अभावको समस्या समाधान हुन सकिरहेको छैन ।

बुधबारसम्म बैंक वित्तीय संस्थाले १० खर्ब ९१ अर्ब ६४ करोड ५० लाख अस्थायी तरलता सुविधाको प्रयोग गरेको राष्ट्र बैंकले जनाएको छ ।

प्रकाशित मिति : ११ कार्तिक २०७८, बिहीबार १२:४३   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।