Logo

अर्थ

राष्ट्रिय वाणिज्य बैंकले दियो १३ कम्पनीलाई अनुदान सहयोग, कसले कति पाए नगद सहयोग ?



राष्ट्रिय वाणिज्य बैंकले १३ वटा कम्पनीलाई नगद आर्थिक अनुदान सहयोग प्रदान गरेको छ । बैंकले जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित इनर्जी इफिसियन्सी प्रोग्रामको लागि अनुदान सहयोगअन्तर्गत १३ वटा कम्पनीलाई ६ करोड ५० लाख रुपैयाँ रकम हस्तान्तरण गरेको हो।

बैंकले एसियन थाई फुड्स, जस्मिन हाइजिन प्रोडक्ट्स्, ताजा फुड्सलाई १÷१ करोड रुपैयाँ प्रदान गरेको छ । नेपाल वायर्स एण्ड केवललाई ६४ लाख ८४ हजार, पञ्चकन्या स्टील इन्डष्ट्रिजलाई ६३ लाख ९१ हजार, पञ्चकन्या मेटल इन्जिनियरिङलाई ४४ लाख १९ हजार रुपैयाँ रुपैयाँ हस्तान्तरण गरिएको छ ।

त्यस्तै एसआर स्टील इन्डष्ट्रिजलाई ४३ लाख २१ हजार, क्युमेड फर्मुलेसनलाई ३१ लाख ६१ हजार, इलाम टी प्रोड्युसरलाई २९ लाख ६९ हजार, ओहम फर्मम्युट्रिकल्स ल्याब्रोट्रिजलाई २४ लाख ९४ हजार, पञ्चकन्या प्लास्टिक इन्डष्ट्रिजलाई २२ लाख ५८ हजार, हिमालयन नेचुरललाई १७ लाख ४० हजार र विजयदीप ल्याब्रोट्रिजलाई ८ लाख ४५ हजार रुपैयाँ रकम हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

बैंकका अनुसार मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी कम्पनीहरुले यन्त्र उपकरण जडान गरेवापत ती कम्पनीहरुलाई अनुदान रकम हस्तान्तरण गरिएको हो। बैंकमा भएको एक कार्यक्रमबीच स्वीकृत अनुदान कार्यविधिअनुसार अनुदान सहयोग सम्झौता आदानप्रदान तथा अनुदान रकमको चेक हस्तान्तरण गरिएको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले चेक रकम हस्तान्तरण गर्दै अनुदान रकमले व्यवसायको अन्य पक्षको पनि सुधार हुने विश्वास व्यक्त गरे । उनले हालसम्म ३० वटाभन्दा बढी उद्योगलाई १६ करोड ३५ लाख रुपैयाँभन्दा बढी अनुदान रकम हस्तान्तरण गरिसकेको बताए ।

नेपाल सरकार र जर्मन सरकारबीच सन् २०१३ मा नेपालको औद्योगिक तथा व्यापारिक क्षेत्रमा मितव्ययी तथा प्रभावकारी उर्जा बचत गर्ने सम्झौताबमोजिम राष्ट्रिय वाणिज्य बैंकले इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल आयोजना कार्यन्वयनको लागि प्रोजेक्ट एक्जिक्युटिङ एजेन्सी (पीईए) को रुपमा सहायतासम्बन्धी कार्य गर्ने गरेको छ।

आयोजनाअन्तर्गत नेपालमा सञ्चालित ठूला, साना तथा मझौला उद्योग र फर्महरुलाई मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुनेगरी यन्त्र उपकरण जडान गर्दा जर्मन सहायताबाट प्राप्त हुने रकमबाट लागतको १५ देखि ३९ प्रतिशतसम्म अनुदान रकम राष्ट्रिय वाणिज्य बैंकमार्फत उपलव्ध गराइँदै आएको छ।

आयोजनाअन्तर्गत कुनै एक ईकाइले मितव्ययी तथा प्रभावकारी ऊर्जा बचत हुने गरी यन्त्र उपकरणमा लगानी गरेमा स्वीकृत अनुदान कार्यविधिभित्र रही अधिकतम एक करोड रुपैयाँसम्मको अनुदान रकमको सीमा कायम गरिएको बैंकले जनाएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७८, आईतवार ११:२३   :  बजे

261
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।