काठमाडौं । अमेरिकी नियोग सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को नेपालमा तीब्र विरोध भइरहेका बेला यसकी नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) एलेक्सिया लतोर्तुले प्रधानमन्त्री शेरबहादुर देउवासँग बैलायतमै भेटघाट गरेकी छिन् । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री देउवासँग एमसीसीका डेपुटी सीईओ लतोर्तुले शिष्टाचार भेट गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ‘भेटमा एमसीसी कम्प्याक्टसँग सम्बन्धित विषयमा छलफल भयो,’ ।
वासिङ्टनस्थित एमसीसी मुख्यालयले गत बिहीबार विज्ञप्ति निकालेर नेपालको संसदमा विचाराधीन एमसीसी सम्झौता अनुमोदन नभए ५० करोड अमेरिकी डलरको अनुदान सहायता नेपालले गुमाउनसक्ने चेतावनी दिएको थियो ।
एमसीसी सम्झौताको भविष्यबारे के गर्ने भन्ने कुरा अब नेपालको हातमा रहेको भन्दै उक्त सम्झौतामा कुनै संशोधन हुन नसक्ने मुख्यालयले बताएको थियो ।
एमसीसी अघि बढाउनेबारे सत्तारुढ दलभित्रै मतभेद छ भने प्रमुख प्रतिपक्षी एमालेले पनि त्यसबारे सकारात्मक प्रतिक्रिया दिएको छैन । सत्तासाझेदार कांग्रेस र जनता समाजवादी पार्टी एमसीसीसंसदबाट अनुमोदन गर्ने पक्षमा छन् ।
तर, सत्ताका दुई प्रमुख घटक माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले एमसीसीबारे फरक मत राखेका छन् । एमसीसी सम्झौता संशोधन गरेर मात्रै संसदबाट पास गर्नुपर्ने उनीहरुको भनाइ छ ।





















प्रतिक्रिया