Logo

स्वास्थ्य

क्षयरोगलाई जितेको मेरो अनुभव 



आज क्षयरोग दिवस । मलाई क्षयरोग निको भएको ठीक १४ महिना भएछ । क्षयरोग लागेपछि उपचार नपाउँदा सम्म कति कठिन हुन्छ भन्ने भोग्नेलाई मात्र थाहा हुन्छ । मलाई १/२ महिना लगातार सुख्खा खोकी लागेको समयमा काठमाडौको धुलो धुवाँ दुर्गन्धले होला भनेर बेवास्ता गरेर बसेको थिएँ । 

प्रायः जसो पानी परेपछि रोपाइ गर्ने चलन बसेको हाम्रो कैलालीस्थित गाउँमा असार १४ राति पानी परेकोले बिहान ४ बजेबाट रोपाईं गर्न थालेका थियौं ।  जति सक्दो धेरै रोपाईं गरेर सकाउनु पर्छ भनेर दिउँसोको घाममा पनि हाफ पाइन्टमात्र लागाएर नाङगो शरीरले ट्रयाक्टर चलाउने आली हाल्ने गरिरहेको बेला एक्कासी खोकी लाग्यो ।  खोकेर थुक्ने बेला हल्का रगत आएजस्तो भयो ।  अलि बल गरेर थुके साँच्चिकै रगत आयो । 

त्यसपछि आत्तिएर मैले ठूलो स्वरमा मलाई त टीबी लागेछ भन्दा आमा र बहिनी चिन्तित हुनुभयो । तर मजाक गरेको भनेर सरासर काममा लागे । भोलिपल्ट खाल्डोमा जम्मा भएको पानीले रोपाईं गरौ भनेर बुवाले भनेपछि खाल्डोमा पाइप हालेर पानी मुखले तान्ने बेला रगतको ढिक्का बाहिर आयो । 

म त डराएर मर्छुकी जस्तो लाग्यो । खेतबाट घरमा आएर पल्टिन खोज्दा अझ गार्‍हो भयो । फेरि ३/४ पटक रगत आइसकेपछि मलाई रिंगटा लाग्न थाल्यो । त्यसपछि बुवाले नजिकैको घोडाघोडी अस्पताल लैजानुभयो । 

डाक्टरले रगत जाँच र छातीको एक्स-रे गर्दा फोक्सोमा दाग देखिएछ । डाक्टरले केही भाको छैन गर्मीले हो, चीसो पदार्थ नखान भन्दै केही औषधि दिँदै केही दिनमा आराम हुने बताउनुभयो । केहि दिनको पर्खाइमा पनि ठीक नभएपछि म काठमाडौ आए ।  टिचीङ अस्पतालमा डाक्टरले चेक गर्ने क्रममा सोध्नु भएको थियो, ‘रक्सी चुरोट सेवन गर्छौ ?’ 
मैले खाँदिन भने । पछि थाहा पाए समयमा खाना नखाएकाले कमजोरी भएको रहेछ । विस्तारै टीबी भैसकेको रहेछ । 

यो टीबी त रोगी मानिसको सम्पर्कमा आएमा अथवा कहिलेकाहिँ बंशाणुगत कारणले पनि लाग्दो रहेछ । डाक्टरले सीटी सक्यान गर्न लगाउनुभयो । छातीमा दाग छ, टीबी जस्तो छ । मलाई फेरि तीन दिन लगातार खकार जचाउन लगाइयो । सोही बमोजिम गर्दा टीबी पुष्टि भयो । 

डाक्टरले भन्नुभएको थियो खकारबाट टीबी पुष्टि नभएमा मुखबाट पाइप हाल्नुपर्छ । यो कुरा सुन्दा मलाई डर लागेको थियो । पाइप हाल्नु नपर्ने कुराले म खुशी भएँ । डाक्टरले ६ महिना देखि ९ महिनासम्म औषधि सेवन गर्नुपर्छ भन्नुभयो । 

चेकजाँचको कागजात लगेर आफु बस्ने नजिकैको औषधि बितरण केन्द्रमा गएर कार्ड बनाएर निःशुल्क औषधि सेवन गरे । सुरु सुरुमा शरीर दुख्ने समस्याले केही दिन एकदमै गाह्रो भयो । नियमितरुपमा डाक्टरको सल्लाह बमोजिम औषधि सेवन गरेपछि त्यो दुखाई बन्द भयो । 

टीबी विरुद्धको औषधि सेवन गर्दा पिसाब र दिशा पहेंलो आउँथ्यो । शरीर एकदमै कमजोर भएकोले तागतको लागी बुवाको सल्लाहमा मैले दुध र अण्डा नियमित सेवन गर्थें । ६ महिनापछि पुनः जाँच गराउँदा म टीबी मुक्त भएछु । 

म टीबीबाट निको भएपछि म र मेरो परिवार अत्यन्तै खुशी भयौं । निःशुल्क औषधि पाएकोमा सरकारलाई पनि मनमनै धन्यवाद दिए । 
आज मार्च २४, विश्व क्षयरोग दिवसको उपलक्ष्यमा सवैलाइ आफनो स्वास्थ्यको ख्याल राख्न आग्रह गर्दछु । साथै, क्षयरोगका कुनै लक्षण देखिए तुरुन्तै परीक्षण गराएर नियमित औषधि खान पनि सुझाव दिन चाहन्छु ।

प्रकाशित मिति : ११ चैत्र २०७७, बुधबार १८:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।