Logo

स्वास्थ्य

भाइरल रोगबाट विद्यार्थी सङ्क्रमित



जिल्लाको बूढीगङ्गा नगरपालिका–१ डुङ्ग्रीस्थित धुरालसैन माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी चार दिनदेखि भाइरल रोगका कारण बिरामी पर्न थालेका छन् । विद्यार्थी धमाधम बिरामी पर्न थालेपछि विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको प्रधानाध्यापक महासिं थापाले बताए । विद्यालयमा अध्ययनरत एक सय बढी विद्यार्थी तीन दिनयता बिरामी परेका छन् । विद्यार्थीमा रुघाखोकी, ज्वरो र टाउको दुख्ने समस्या देखिएको धुरालसैन माविका शिक्षक सुरेन्द्र रौलेले राससलाई जानकारी दिए  । 

दैनिक २० भन्दा बढी बिरामी हुने गरेको विद्यालयका प्रधानाध्यापक थापाले बताउनुभयो । धेरै विद्यार्थी बिरामी भएकाले विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ । विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या कम हुँदै गएको छ । शनिबार र आइतबार सार्वजनिक बिदामा केही विद्यार्थी गाउँमै बिरामी परेका र आज विद्यालय खुलेपछि पनि केही विद्यार्थी बिरामी पर्न थालेका शिक्षक रौलेको भनाइ छ । आज मात्र कक्षा ७ का एकैपटक १० विद्यार्थी बिरामी परेका छन् ।

नगरपालिकाबाट स्वास्थ्यकर्मीको टोली विद्यालयमा गई उपचारमा खटिएको छ । विद्यार्थी बिरामी भएको जानकारी आएपछि स्वास्थ्यकर्मीको टोली औषधिसहित विद्यालयमा पठाइएको नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए । विद्यार्थीमा रुघाखोकी, टाउको दुख्ने, पेट दुख्ने, ज्वरो आउन, वाकवाकी लाग्ने लक्षण देखा परेको विद्यालयले जनाएको छ । 

प्रकाशित मिति : १६ चैत्र २०७७, सोमबार १५:५४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।