हेटौंडा । नेपाली कांग्रेस मकवानपुर जिल्ला सभापतिका उम्मेदवार आनन्दराम पराजुलीको सचिवालय स्थापना गरिएको छ ।
पुस २७ गते हुने जिल्ला अधिवेशनमा सभापतिको उम्मेदवार रहेका पराजुलीले हेटौंडा–२ स्थित कांग्रेस चोकमा सचिवालय स्थापना गरेका छन् । जिल्ला अधिवेशनको दौरानमा आफ्नो प्रचारप्रसारलाई थप व्यवस्थित बनाउन सचिवालय स्थापना गरिएको पराजुलीले बताएका छन् । ‘म सभापतिको पक्का उम्मेदवार हुँ ।’ उनले भने, ‘पार्टीका क्षेत्रीय प्रतिनिधि र सम्पूर्ण कार्यकर्ताको मत र मन जितेरनै म सभापतिका लागि अघि बढेको हुँ, यसै शिलशिलामा हेटौंडा–२ कांग्रेस चोकमा सचिवालय स्थापना गरेर चुनावी प्रचारप्रसारलाई तीव्रता दिइएको हो ।’
विगत ३ दशकदेखि कांग्रेसको राजनीतिमा सक्रिय भूमिकामा रहेका पराजुली यस पटकको जिल्ला अधिवेशनमा सभापतिका रुपमा उम्मेदवारी दिन तयारी थालेका छन् । पाँच पटक महाधिवेशन प्रतिनिधि, हेटौंडा उपमहानगर सभापति र जिल्ला सचिवसमेत भइसकेका पराजुली २०७४ को स्थानीय तहको निर्वाचनमा हेटौंडा उपमहानगरपालिकाको मेयरमा झिनो मतान्तरले पराजित भएका थिए ।
संगठन विस्तार, पार्टीको विकास र जिल्लामा कांग्रेसलाई उकास्न निरन्तर लागि परेको दावी गर्दै पराजुलीले केहि दिनमै आफ्नो प्यानल घोषणा गर्ने तयारी गरेका छन् । सचिवालय स्थापनाको सन्दर्भमा प्रतिक्रिया दिँदै पराजुलीले केही दिनमै पूर्ण कार्यसमितिका उम्मेदवारसहितको प्यानल घोषणा गरेर चुनावी मैदानमा होमिने बताएका छन् । उनले सम्पूर्ण क्षेत्रीय प्रतिनिधि मतदातालाई आफ्नो सचिवालयमा आउनसमेत अनुरोध गरेका छन् ।





















प्रतिक्रिया