Logo

प्रमुख समाचार

प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीसँग गुजरातमै भेटवार्ता गर्ने



प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने भारत भ्रमणमा जाने तय भइसकेको छ । त्यसक्रममा उनी २५ पुसमा नयाँ दिल्ली प्रस्थान गर्नेछन् । उनले 
२६ पुसमा गुजरातको अहमदाबादमा आयोजना हुने ‘भाइब्रेन्ट गुजरात’ सम्मेलनलाई सम्बोधन गर्ने भएका छन् । सम्मेलनमा सहभागी हुनकै लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई निम्तो दिएका हुन् । 

नेपाल र भारतका परराष्ट्र मन्त्रालयले यही साता देउवाको भारत भ्रमणको मिति र कार्यक्रम एकैसाथ सार्वजनिक गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री देउवाका सबै भेटवार्ता गुजरातमै हुने तय भएको छ । भारतीय प्रधानमन्त्री मोदी गुजरातमै हुने भएकाले नयाँ दिल्लीमा यसपटक भेटवार्ता नहुने प्रधानमन्त्री देउवाको निजी सचिवालयले जनाएको छ ।  

प्रधानमन्त्री २५ पुसमा नयाँ दिल्ली ट्रान्जिट भएर अपराह्न गुजरात पुग्नेछन् । भारतीय समकक्षी मोदीले विदेशी राष्ट्रप्रमुख, सरकारप्रमुख एवं प्रतिनिधिमण्डलका लागि आयोजना गर्ने स्वागत समारोहमा देउवा सहभागी हुनेछन् । उनीसहित आधा दर्जन सरकार–राष्ट्रप्रमुख गुजरात सम्मेलनमा सहभागी हुने कार्यक्रम छ । 

प्रधानमन्त्री देउवाले भ्रमणको दोस्रो दिन २६ पुसमा भाइब्रेन्ट गुजरात सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यही दिन उनले भारतीय समकक्षी मोदीसँग द्विपक्षीय औपचारिक वार्ता गर्नेछन् । 

प्रधानमन्त्री देउवा सानो आकारको प्रतिनिधिमण्डलसहित भारत जाने गरी तयारीमा लागेका छन् । देउवाले भारतसँग सीमा समस्या समाधान, विगतमा भएका सम्झौताहरूको कार्यान्वयन, कोभिड- १९ पछि आर्थिक पुनःस्थापनामा भारतको सहयोग तथा नेपालमा भारतीय लगानीको बढोत्तरी, ऊर्जा, डुबानलगायतका समस्याबारे छलफल गर्ने गरी एजेन्डा तयार पारिएको छ ।
 

प्रकाशित मिति : २० पुष २०७८, मंगलवार १६:३१   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।