‘यौनिकता’ भन्नु ‘यौन’ मात्र होइन । यौनक्रिया मात्र पनि होइन । यो एउटा मानसिक स्थिति हो, जसले एउटा मानिसभित्रको यौनिक झुकावलाई जनाउँछ । लिङ्गका आधारमा यौनिकता परिभाषित हुन्छ नै भन्ने हुँदैन । शारीरिक संरचनाका आधारमा एउटा लिङ्ग लिएर जन्मेका मान्छेको यौनिकता, त्यस जन्मसिद्ध लिङ्गअनुरूप स्त्री वा पुरुष हुन पनि सक्छ, र नहुन पनि सक्छ । स्त्री शरीर भएकाहरूमा पुरुषवृत्ति पनि पाइन्छ । पुरुषहरूमा स्त्रीस्वभाव पनि हुन्छ । अथवा, कसै कसैको यौनिकता परिवर्तनशील हुन्छ, स्थिर हुँदैन । कसैसकैमा पुरुष र महिला दुवैतिरको आकर्षण पनि हुन्छ । कोही भने यौनिक्रियामा बिल्कुलै चासो नभएको पनि भेटिन्छन् समाजमा । त्यसैले, यौनिकता एउटा अस्थिर, परिवर्तनशील, तरल र बहुआयामिक स्थिति पनि हो ।
यौनिकता नेपाली आख्यान–साहित्यमा, विशेष गरी पछिल्ला दशकहरूमा शनैः शनैः प्रवेश पाउँदै गरेको विषय हो । महिला अथवा पुरुष स्वभावकै जगमा लैङ्गिकताको अध्ययन हुँदैआएको परिप्रेक्षामा अचेल यौनिकताको बहुआयामिक प्रकृतिको अध्ययनले पनि प्रवेश पाउन थालेको छ । अर्चना थापाको ‘कठपुतला’ का कतिपय पात्रहरू, तर्कना शर्माको ‘जेब्राक्रस’ का केही पात्र तथा पुष्कर लोहनीको ‘अदृश्य मान्छे’ का प्रायः सबै प्रमुख पात्रलाई उदाहरणका रूपमा लिन सकिन्छ ।
हुन त मञ्जु विमलीको उपन्यास ‘अतृप्ति’ को मूल कथाको ध्येय अप्राप्य मानसिक भोकको सन्धान हो, विविध थरिका यौनिकताको उत्खनन् होइन । भनिएकै छ, ‘यो उपन्यास किशोरकालीन प्रेमभावबाट प्रारम्भ भएर युवा उमेरसम्म पुग्दा भइरहने फरकफरक आकर्षणका अनुभूतिहरूमा केन्द्रित छ ।’ तर कुरा त्यति मात्रै छैन । यस अप्राप्य मानसिक भोकको जग भनेको, फेरि पनि एउटा अभावसँग जोडिएको छ, र फ्रायडको मतसँग सहमत हुने हो भने उक्त अभाव यौनजन्य छ र पात्रका अधिकांश गतिविधिको व्याख्या त्यसैको जगमा गर्न सकिन्छ । उपन्यासमा त्यस अभावको प्रतीकको रूपमा कतै ‘नीलो सर्ट’ देखिन्छ भने कतै चाहेको समयमा खान नपाइएको र सबै गुज्रेपछि भेटिएको ‘पिज्जा’ देखिन्छ ।
रैखिक हिसाबले हेर्ने हो भने, पूर्वी नेपालको नाम प्रस्टसँग नखुलेको कुनै गाउँको एउटा सामान्य र अभावग्रस्त परिवारबाट पढ्नका लागि काठमाडौँ आएकी किशोरी इन्दिराको सहरी जीवन, अध्ययन, जागिर, प्रेम, विवाह र त्यसपछिको जीवनको ऊहापोहको कथा हो ‘अतृप्ति’ । स्कुलमै रहँदाको क्रश, नीलो सर्ट लगाउने किरणसँगको उसको साथ अकारण छुटेको छ । तर यो छुटाइ, उसको जीवनभरिको एउटा तिर्खा बनेर इन्दिराको जीवनमा गाडिएको छ ।
गाउँको स्कुलको सहपाठी किरण उसलाई माया गथ्र्यो । तर किरणका आँखा कुरूप रीताका वरिपरि पनि हुन्थे जसलाई रीता प्रेम भनेर बुझ्थी । तर सारमा, रीताको अनुहार ‘घोडाको जस्तै’ भएको कुरा किरणकै संवादबाट थाहा हुन आउँछ । तर पनि, यस त्रिकोणीय सम्बन्धको केही न केही असर सबैको प्रेमजीवनमा परेको देखिन्छ । यानि, रीताको पोलपोलाइका कारण किरण र इन्दिराको निकटताको कुरा इन्दिराकी दिदी करुणसम्म पुग्छ । यसै पोलका कारण करुणा इन्दिराप्रति रुष्ट हुँदै गएको देखिन्छ । यस्तै यस्तै कारण इन्दिरा र किरणको प्रेम अगाडि बढ्न नसकको देखिन्छ, र किरण कथाको पटबाट करिब करिब अलप भएर गएको देखिन्छ । एकचोटि पाथीभरा जाँदा बाटोमा भेटिएको किरणले भनेको सम्झन्छन्— उसको माया तराई झरिसकको छ । पछि, कथाको अन्त्यतिर मात्रै ऊ क्यान्सरग्रस्त बिरामीको रूपमा भरतपुर क्यान्सर अस्पतलामा देखा परेको, र त्यो बेला इन्दिराले उसलाई नीलो सर्टको कपडा उपहार दिएको कुरा पाठकसमक्ष खुल्छ ।

इन्दिरा सहर पसेपछि किरणको जस्तै नीला सर्टहरू उसका आँखामा ठोक्किन आइरहन्छन् । मनोविज्ञानको भाषामा भन्दा यो ‘एसोसिएसनको’ अवस्था हो, जहाँ एउटा अभाव, त्यसको रूप, रङ र प्रकृति भएको अर्को चिजबाट क्षतिपूर्ति गर्ने कोशिस मान्छेको दिमागले गरिरहेको हुन्छ । त्यस्तै सर्ट लगाउने, किरणको कदकाँठीसँग काटीकुटी मिल्ने उसको नयाँ प्रेमी निशानले बलात्कारको प्रयास गरेपछि उनी दुईको साथ छुट्छ । फेरि उस्तै सर्टधारी, ट्युसन क्लासमा भेटिएको नेवारी गाउँले केटो सुदिपसँग अव्यक्त प्रेम हुन्छ, तर बिना कुनै ठोस करण बिहे हुँदैन । नीलै सर्ट लगाउने, र निशानजस्तै देखिने, आफूले काम गरेको कारखानाको मालिकसँग पनि एउटा अव्यक्त आकर्षण हुन्छ, तर त्यो कुनै मुकाममा पुग्दनै । पछि आफूले पढाउने गरेको स्कुलमा सहकर्मी, उस्तै नीलो सर्ट लगाउने र पहिलाकी श्रीमति बबिता गुमाइसकेको, चितवनको अरुणसँग इन्दिराको बिहे हुन्छ, र छोरो पनि जन्मन्छ । तर पनि, मनको भित्री कुनमा छुटेका नीलो सर्टधारीहरू — किरण, निशान र सुदिप — क्रमर्श आइरहन्छन्, र एउटा अतृप्तिको रूपक अलङ्कार बनेर इन्दिारको जीनव, स्मरण र समयलाई खल्बल्याइरहन्छन् । कथाको अन्त्यमा इन्दिरा क्यान्सरग्रस्त सासूको स्याहारमा देखिन्छिन्, र उनी आफ्नै श्रीमान् अरुणलाई पनि निलो सर्ट नलाउन आग्रह गरिरहेकी भेटिन्छिन् । भन्छिन्— ‘मलाई यो रङ मन पर्दैन ।’ नीलो सर्टप्रतिको यो वितृष्णा आफैँमा अर्थपूर्ण लाग्छ ।
कथा यहाँ भनेजस्तो सपाट र रैखिक छैन । सुरूवाती विन्दुबाटै पात्रहरूले अपेक्षित अथवा स्वाभाविक ‘मानिएका’ यौनिक व्यवहार गरेको पाइँदैन । घरका आमा बढी ‘घरेलु’ हुन्छन् भन्ने मान्यता राखेको नेपाली समाजमा, आजभन्दा अनुमानित करि ४ दशकअघि नै इन्दिराकी आमाले, बाबुको आपित्तका बावजुद छोरीलाई स्कुल पठाउनुपर्छ, गाउँ छोडेर सहर पठाउनुपर्छ र मानसिक रूपले बलिया बनाउनुपर्छ भन्ने मात रखेको पाइन्छ । सानो उमेरमा बिहे गर्नु हुँदैन भन्ने आमा भन्छिन्, ‘नयाँ ठाउँमा पुगेपछि नयाँ कुरा सिक्छन् । पछि पछि आफैँ पनि केही काम गरेर आफ्नो जिउ पाल्छन् ।’ इन्दिराका बाबुले भने यसै कुराको, सुरूमा विरोध गरेको पाइन्छ । यो स्वभाव आफैँमा सामान्यीकृत गरिएको यौनिक स्वभाव, यानि निर्मित सामाजिक सङ्कथनका विरुद्ध छ । त्यसैले क्रान्तिकारी पनि छ र नारी सचेतनाको द्योतक बनेर पनि उभिएको छ ।
इन्दिराकी एउटा दिदी छ— करूणा । एउटै परिवारका दुई छोरी — तिनको स्वभावमा आकाश–जमिनको फरक छ । इन्दिरा केटा साथीहरूतिर छिटै आकर्षित हुने र चाहे पनि र नचाहे पनि छिटै प्रेममा परिहाल्ने खालकी छ । करुणा स्वभातः एकदम रुखी । केटा मान्छेप्रति कुनै आकर्षण रहेको कथाभरि कतै पनि पाइँदैन । र आफूभन्दा पनि कान्छी इन्दिराले चार प्रेमी फेरेर, पाँचौँसँग विवाह गरेर छोरा जन्माएर, छोरो पाँच वर्षको बनाउँदासम्म पनि करुणाको न प्रेम भएको छ, न बिहे । मनोविज्ञानको शब्दमा भन्दा उसको व्यवहार ‘असेक्सुअल’ लाग्छ, तर बहिनीसँगको उसको झर्कोफर्कोलाई ‘होमोफोबिया’ यानि आफूसमानको लिङ्गप्रतिको अनाकर्षण पनि हो कि भन्ने ठाउँ पाइन्छ । फेरि उता पुरुषप्रति पनि उसको त्यस्तै विकर्षण छ । त्यसैले उसको यौनिकता रहस्यमय छ, र कथाको अन्यसम्ममा पनि करुणा अविवाहित नै रहको पाइन्छ । एकथरि मानिसहरू भन्छन् उस्तै पारिवारिक वातावरणमा हुर्केका बच्चाहरूमा समान स्वभाव पाइन्छ, तर इन्दिरा र करुणाको परस्पर–विरोधी व्यवहार हेर्दा यो बुझाइ पनि पूर्ण रूपमा गलत लाग्छ । यस प्रकारको चित्रणमा उपन्यासकार गलत छन् भन्ने ठाउँ पनि देखिँदैन, किन कि यौनिकता व्यक्तिगत स्वभावमा भर पर्छ, र यसलाई बाह्य कुराले त्यति निर्देर्षित गर्न सक्दैन । यसमा उपन्यासकारको बुझाइ मनोविज्ञानसम्मत लाग्छ ।
करुणाको स्वभावमा अर्को ट्विष्ट पनि छ । उमेर छउञ्जेल सधैँ सामाजिक वा राजनैतिक कार्यबाट आफैँलाई टाढा राखेकी करुणा, कथाको उत्तरार्धमा महिला सङ्गठनमा सामेल भएर राजनैतिक गतविधिमा सरिक भएकी देखाइएको छ । उसको स्वभावमा समान्यतः देखिने झर्कोफर्को पनि हराएको, र ऊ व्यवहारिक हुँदै गएको देखिन्छ । रसह्यमय यौनिकता भएकी करुणमा आएको यो अस्वाभाविक परिवर्तनको कुनै ठोस कारण पनि देखिँदैन । सारमा ऊ एक रहस्यमी स्वभावकी पात्र हो ।
सुनिता भनिने एउटी पात्र छे, कम्पनीमा सँगै काम गर्ने । ऊ कसैको बलात्कारबाट गर्भवती भएकी र छोरी जन्माइसकेकी पात्र हो । फेरि पनि ऊ कुनै पुरुषको खोजीमा छे, र चिन्नु न जान्नु, इन्दिराको दाइ रमेशसँग हल्का चिनजान मात्र भएको एउटा लहुरेसँग, एकै दिनको भेटघाटपछि विवाह गर्ने निर्णयमा पुग्छे । पुरुषको बलात्कारबाट बर्बाद भएकी, र ‘लाहुरेको त के विश्वास’ भन्ने उक्त पात्रले यति सजिलै लाहुरे स्वीकार्नु, तर अनेकचोटि, लामो समयसम्म, परख गरी गरी प्रेम गरेर पनि इन्दिरा सधैँ अतृप्त रहनु — रहस्यमय यौनिकताका फेहरिस्त हुन् । इन्दिराको आफ्नै स्वमूल्याङ्कनसँग पाठक पनि सहमत हुने छन्— उसलाई किन कुनै पनि पुरुष देख्नासाथ कुनै न कुनै रूपमा मन परिहाल्छ? ऊ किन कसैप्रति निश्चित धारणा बनाउन सक्दिन? एउटा पुरुष साथी हुँदाहुँदै पनि ऊ अर्कोतिर पनि उही समय कसरी आकर्षित हुन सक्छे? वास्तवमा यो नै इन्दिराको अतृप्तिको मूल कारण हो र यो उसको यौनिकताको परिचायक स्वभाव हो । यौनिकता कति तरल र अस्थिर पहिचान हो, त्यसको साक्ष्य इन्दिराको स्वभाव हो ।
कथामा अनौठा पात्रहरूको मेल छ । इन्दिराकी एक सहपाठी छे शशी । एक दिन त्यस ‘भुइँगेडी’ को आग्रहमा इन्दिरा उसको घर पुग्छे । त्यस दिन शशीले इन्दिरालाई एकान्तमा पारेर चुम्बन गर्ने मात्रै होइन, उसमाथि चढ्ने र यौनजन्य क्रियाकलाप गर्नेसम्मको हर्कत गर्छे । भन्न पनि भ्याइहाल्छे, ‘अबदेखि तिमी मेरी ।’ हुन त इन्दिरा केटाकेटी छँदा गाउँमा ‘भाउजूकी बहिनी’ बाट पनि मित साइनो लगाएको आडमा यस्तो कृत्यको शिकार भइसकेकी थिई । त्यही स्वभाव शशीमा पनि देखिँदा अनौठा यौनिकता मान्छेमा विद्यमान हुँदो रहेछ भन्ने कुरामा ऊ, र ऊसँग पाठकहरू पनि प्रस्ट हुने ठाउँ कथाले दिएको छ ।
शशीको अस्वाभाविक यौनिकताको कथा यत्तिकैमा टुङ्गिँदैन । उसको बिहे भएको छ, र कथाको अन्त्यतिर ऊ गर्भवती पनि छे । तर इन्दिरालाई भन्छे— ऊभित्र पुरुष स्वभाव छ, र उसलाई महिला नै मनपर्छ । ऊ आफ्नो लोग्नेलाई पनि ‘महिला हो’ भनेर हेर्छे, र मात्रै ऊसँग सहवास गर्छे । भन्छे— ‘अनि मैले उनलाई (लोग्नेलाई) पूर्ण रूपमा केटी देख्ने प्रयत्न गर्र थालेँ तर उनी प्रेगनेन्ट भएनन् म पो भइछु ।’ ऊ बच्चा पनि, आमाहरूले सामान्यतः जन्माउन चाहने छोरा नभएर छोरी जन्माउन चाहन्छे । बाबुको झुकाव छोरीतिर हुन्छ भन्ने ‘इडिपस ग्रन्थीको’ को व्याख्या छँदैछ । शशीभित्रको पुरुषग्रन्थीले, त्यस मानेमा, छोरी जन्माउन खोज्नु, मनोवैज्ञिानिक दृष्टिले स्वाभाविक हुन आउँछ । तर, उसको स्वाभाविकता थाहा पाउन ऊ ‘टोम्बोय,’ यानि शरीरले महिला तर व्यवहारले पुरष भएको कुरा प्रस्ट बुझ्नु आवश्यक छ ।
इन्दिराले जागिर खाने, होजियारी कारखनामा उसकी एउटी सहकर्मी छे— मोनिका । ऊ इन्दिरालगायतका अन्य महिला कर्मचारीलाई फुटेका आँखाले देख्न सक्दिन र शङ्का मात्रै गरिरहन्छे । भड्काउन खोज्छे । मालिकसँग नजिक भयो भने कुरा काट्छे । यानि, ऊ ‘होमोफोबिया’ बाट ग्रसित देखिन्छे । ऊ आफू भने प्रेम नाम गरेको एउटा भारतीयसँगको सम्बन्धमा छे, र दिनदहाडै, बसमा पनि टाँस्सिएर बस्छे । उसैका शब्दमा प्रेम ‘अरिममठ्ठे, जुँगे’ छ । तर किन ऊसँगको प्रेममा छे र यस्तो असाधारण आकर्षणको कारण के हो, थाहा पाइँदैन । अचम्म के छ भने, बसबाट उत्रिसक्दा ऊ र प्रेम ‘हतारहतार छुट्टिएर अर्कै बाटो’ लाग्छन् । मोनिकाको बिहे भने ‘आफ्नै जातको’ भनिने एउटा नपुंशकसँग भएको देखिन्छ । यी विडम्बनाहरूले मान्छेको यौनिकता कति जटिल र वर्णनातीत त छ भन्ने कुरा दर्शाउँछ ।
इन्दिरा र करुणाले यात्रा गर्ने बसमा अनेक यौनिक स्वभावका मान्छे छन् । कतिपय पुरुषहरू ‘भोको बाघजस्तो आँखाले’ हेर्ने स्वभावका छन्, जो भिडको सहारा लिएर जसरी हुन्छ महिला यात्रुको छेउछाउ आएर टाँसिन खोजिहाल्छन् । त्यसै बसमा मोनिकाजस्ता महिला पनि छन्, जो पुरुषको आडैमा टाँसिएर बस्छन् । मोनिकाकै कुरा गर्दा इन्दिरा भन्छे— ‘जुँगामुठे अरिमठ्ठिएको कालो अनुहारको भारतीय मूलको त्यो मान्छेकै कुममा उसको छाती रगडिइरहेजस्तो देखिन्थ्यो ।’ यानि, मोनिका एउटी ‘टिपिकल हेटेरोसेक्सुअल’ तथा ‘होमोफोबिक’ महिला हो ।
इन्दिरा र अरुणको वैवाहिक सम्बन्धका सुरुवाती दिनमा पनि जटिलता देखिन्छ । सुहाग रातको त कुरै छोडौँ, बिहेको करिब पन्ध्र दिनसम्म अरुणले छुँदा पनि छुँदैन इन्दिरालाई । तर एक दिन अचानक नाटकीय तरिकाले परिवर्तित भएर आउँछ । भन्छ, उसकी पूर्वपत्नी गुमाएपछि इन्दिराप्रति ऊ आकार्षित हुनै सकेन तर स्वप्नावस्थामा बबिताले आफैँ आएर ‘इन्दिार भनेकी मै हुँ’ भनेपछि उसको पुरुषत्व एक्कासि जागृत भएर आएको र उसले इन्दिरालाई गर्भाधान गरेको कथा छ । यो आफैँमा एउटा अनौठो यौनिकता र जटिल मनोवैज्ञानिक स्वभाव हो । यो ‘एसोसिएसन’ को व्याख्या सरल रेखामा गर्न सकिँदैन ।
उता सुदिपको स्वभाव भने सामान्य पुरुष् वा प्रेमीको जस्तो लाग्दैन । हुन त एकचोटि आँगन रेष्टुँमा पिज्जा खान जाँदा इन्दिराका हात आफ्नो छातीमा टाँस्ने कोशिस गरेको थियो । तर ऊ त्यसभन्दा अगाडि कहिल्यै बढेन । इन्दिराको बिहे अरुणसँग हुँदैछ भन्ने थाहा पाउँदा पनि झोलाभरि उपहार लिएर जाने, र पछि इन्दिाराले छोरो जन्माएको थाहा पाउँदा पनि बच्चाका लागि खेलौना लिएर जाने उसको प्रेम ‘प्लेटोनिक’ यानि वासनारहित भएको बुझिन्छ । ऊ आफैँमा एउटा अनुरक्त प्रेमी हो । तर विडम्बना, प्रेमको आदर्शमा सर्वाेच्च मानिने स्वार्थरहित प्रेमको धनी भएर पनि ऊ, कथाको अन्त्यसम्म, अविवाहित नै छ । सागरमा तिर्खा भनेजस्तो । उसले पहिले खुवाउन नपाएको पिज्जा भने इन्दिरालाई अवश्य नै ख्वाएको छ । यसैमा ऊ तृप्त देखिन्छ ।
यी तमाम पात्र र वक्र रेखमा गुडेका उनका कथाले यौनिकताको अध्ययनका लागि विविध ढोका खोलेका छन् । महिला उपन्यासकारले लेखेको उपन्यास भएकोले महिलाहरूको सम्बन्धका बारेको जीवनदृष्टि के छ, र उनीहरू पुरुष र महिलालाई कसरी हेर्छन्, त्यो जान्ने अवसर यस उपन्यासले दिएको छ । स्त्री–पुरुष सम्बन्धलाई नारीवारी वा पुरुषवादी दृष्टिकोणले बढी अध्ययन गरिने परम्पारा बसेको हाम्रो पाठकीय संसारमा यस उपन्यासले कही नयाँ अध्ययनका अवसरहरू पनि प्रदान गरेको छ ।
उपन्यासमा प्रश्न उठाउनुपर्ने केही ठाउँ भने अवश्यै छन् । वैकल्पित लैङ्गिकताको यत्तिको ज्ञान भएकी लेखिकाले कतिपय सन्दर्भमा पुरुष र महिलाबारेका परम्परागत मान्यतलाई पुनः सामन्यीकृत गरेकी छिन् । दोस्रो, इन्दिराले प्रेम गरेका पाँचै पुरुषको सर्टको रङमात्रै समान छैन, हुलिया, अनुहार, बुनोट र शरीरमा पनि समानता छ । छोटा छोटा अन्तरालमा यस्ता पात्र भेटिनु र प्राय सबैसँग प्रेम हुनु अति संयोग हो, र उपन्यासमा बलात् लादिएको जस्तो लाग्छ । तेस्रो, समयक्रममा विभिन्न ठाउँमा छुटेका पात्र — किरण, निशान, सुदिप, शशी र मोनिका — कथाको अन्त्यमा एकपछि अर्को गर्दै देखापर्नु एउटा यथार्थवादी उपन्यासको सटिकताका लागि त्यति प्राकृतिक मान्न सकिँदैन । लुकेर प्रेम गर्नुपर्छ भन्ने हेक्का भएको किरणले इन्दिराको घरैको ठेगानामा प्रेमपत्र लेखेको छ । खोलिन सक्छ र परिवारले थाहा पाउन सक्छ भन्ने हेक्का हुनुपर्ने नि उसलाई । उता पहिलोपल्ट टेलिफोन संवादमा आएकी सुनिताकी आमाले छोरी बलात्कृत भएको ‘आँखोदेखा हाल’ इन्दिराहरूलाई सुनाउनु आफैँमा अपत्यारिलो कुरा हो । यस्तो संवेदनशील कुरा फोनमा पराइलाई, त्यो पनि आमाले, सायद भन्दैनन् । अरूण र इन्दिराको बिहे भएपछि उनीहरूको पहिलो सफल यौन क्रिडामा, र इन्दिराको प्रसूतिको व्याख्यामा धेरै पाना खर्चिइएको छ । यिनलाई एक एक हरफमा काण्ड पु¥याइदिन सकिन्थ्यो । आखिर यिनमा पाठकले नबुझेका, र यसै उपन्यासले जनाउनुपर्ने ‘नयाँ’ विवरण के छन् र ?
















प्रतिक्रिया