Logo

अर्थ

साउनमा मात्रै ४० लाख ग्यास सिलिन्डर खपत, केही दिनमै आपूर्ति सहज हुने दाबी



काठमाडौं । नेपाल आयल निगमले पछिल्लो एक साता अर्थात् साउन २७ गतेदेखि भदौ २ गते साँझसम्म तीन लाख ९ हजार ५५३ वटा सिलिन्डर बिक्री भइरहेको जनाएको छ । यो औसतमा दैनिक ४४ हजारभन्दा बढी हो ।

बजारमा खाना पकाउने ग्यास आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ ।

‘काठमाडौँ उपत्यकामा प्रतिदिन औसत ३५ देखि ३७ हजार सिलिन्डरको माग हो, तर अहिले हामीले औसतमा पाँच हजारदेखि आठ हजार सिलिन्डर बढी आपूर्ति गरिरहेका छौँ”, निगमका निर्देशक विनितमणि उपाध्यायले भने।

निगमका अनुसार आज मात्रै काठमाडौँ उपत्यकाका २२ ग्यास उद्योगले ४७ हजार ३८८ थान सिलिन्डर बिक्री गर्दैछन्। साथै भदौ १ गते काठमाडौँ उपत्यकामा ५२ हजार ५७६ थान सिलिन्डर बिक्री गरिएको छ, जुन दैनिक औसतभन्दा करिब १५ हजारले बढी हो।

निगमका अनुसार सामान्य अवस्थामा मुलुकभर दैनिक एक लाख १० हजारको हाराहारीमा सिलिण्डर बिक्री हुन्छ । तर चालु आर्थिक वर्षको साउनमा मात्रै ५७ हजार ३१६ मेट्रिक टन एलपी ग्यासअर्थात् ४० लाख ३६ हजार ३६४ थान सिलिण्डर बिक्री भएको छ ।

जुन अघिल्लो गत २०८२/८३ को साउनको तुलनामा करिब २९.३ प्रतिशत बढी हो । गत आवको ४४ हजार ३१८ मेट्रिक टन एलपी ग्यास अर्थात् ३१ लाख २० हजार ९८६ थान सिलिण्डर बिक्री भएको थियो । त्यसैगरी अघिल्लो आव २०८१/८२ को साउनमा ४५ हजार ७३५ मेट्रिक टन अर्थात् ३२ लाख २० हजार ७७५ थान सिलिण्डर बिक्री भएको थियो ।

प्रकाशित मिति : २ भाद्र २०८३, मंगलवार १४:५१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।