काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई पक्राउ गर्नका जिल्ला अदालत, ललितपुरले अनुमति दिन अस्वीकार गरेको छ।
उपभासमुख रुवीकुमारी ठाकुरले दिएकोउजुरीका आधारमा जिल्ला प्रहरी कार्यालय, ललितपुरको टोली पक्राउ पूर्जीका लागि सोमबार जिल्ला अदालत पुगेको थियो। तर, जिल्ला अदालत, ललितपुरले पक्राउ पूर्जी जारी गर्न अस्वीकार गरेको छ।
उपसभामुख ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएको बताएकी थिइन्। श्रेष्ठले जनआस्थाको फेसबुक पेज र अनलाइनमा आफ्नो व्यक्तिगत तस्बिर, मर्यादा र संवैधानिक ओजलाई धमिल्याउने तथा व्यक्तिगत चरित्र र प्रतिष्ठामा क्षति पुर्याउने नियतले असत्य, अनर्गल र निन्दनीय समाचार सम्प्रेषण गरेको उपसभामुख ठाकुरको आरोप थियो।
समाचारमा जोडिएका पुरुष आफूले रक्षाबन्धन बाँधेका दाजु रहेको दाबी उनको छ। उनैसँग अनैतिक सम्बन्धको आरोप लगाएर आफ्नो घोर बेइज्जत र चरित्र हत्या गर्ने प्रयास गरेको उजुरीमा उल्लेख छ।
यसअघि एक युवतीले आफ्नो फेसबुकमा रास्वपा सांसदसँगको तस्बिर सार्वजनिक गरेको बिषयको समाचार बनाएको आरोपमा श्रेष्ठ पक्राउ परेका थिए।
वैयक्तिक गोपनियता हननको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो।
सामाजिक संजालमा सार्वजनिक भएका सामाग्रीलाई वैयक्तिक गोपनियता भन्न नमिल्ने अदालतको निष्कर्ष छ।
















प्रतिक्रिया