Logo

स्वास्थ्य

महामारीमा जनताको मन जितेका वडाध्यक्ष



खजुरा गाउँपालिका–१ का वडाध्यक्ष सुमन मल्लले व्यक्तिगत लगानीमा गाउँमै १० श्ययाको आइसोलेशन सेन्टर तयार गरेका छन् । बाँकेमा कोरोना भाइरस सङ्क्रमण तीव्र रुपमा बढिसक्दा पनि स्थानीय तह अलमलमा परिरहेका बेला मल्ल राधापुर स्वास्थ्यचौकीमा व्यक्तिगत रुपमा करीब पाँच लाख रुपैयाँ लगानी गरी अक्सिजन सुविधाको आइसोलेशन निर्माण गरेर जनतालाई सङ्क्रमणबाट बचाउन लागिपर्नुभएको छ । 

“महामारीका बेला सबभन्दा पहिला जनतालाई स्वास्थ्य सेवा पुर्‍याउनु नै पहिलो प्राथमिकता हो । लकडाउनको बेला बिरामीलाई गाउँबाट अस्पताल पुर्‍याउने कुरा पनि समस्या हुने भएकाले गाउँमै तत्काल उपचार पाउने गरी आइसोलेशन तयार गरेका छौँ”, मल्लले भने, “भेरी अस्पतालमा बिरामीले बेड र अक्सिजन नपाउने समस्या रहेकाले कम्तीमा गाउँमै त्यो सेवा प्रदान गर्न सकौँ भन्ने हाम्रो प्रयास हो ।”

वडाध्यक्षको लगानीमा राधापुर स्वास्थ्यचौकीमा अक्सिजनको आइसोलेशन श्ययाको व्यवस्था भएपछि वडामा सङ्क्रमित कोभिडका बिरामीलाई धेरै सहजता भएको स्थानीय अगुवा विनोद थापाले बताए । तीव्र गतिमा देखिएको कोरोना सङ्क्रमण रोकथामका लागि आजदेखि बाँकेभरि बन्दाबन्दी थपिएको छ । बन्दाबन्दीमा अधिकांश जनप्रतिनिधि घरघरमै रहेका छन् तर खजुरा गाउँपालिका–४ का अध्यक्ष तिलकवीर सुनारको पनि दैनिकी भने बदलिएको छ । भेरी अस्पतालको कोभिड आइसोलेशन वार्डमा बिरामीलाई अक्सिजन खरीदका लागि एक लाख ३२ हजार रुपैयाँ भन्दा बढी रकम प्रदान गरेका वडाअध्यक्ष सुनारले अहिले वडामा भारतलगायत बाहिरी मुलुकबाट आउने व्यक्तिको पहिचान र सम्भावित सङ्क्रमितको खोजीमा दिन बिताउने गरेका छन् । 

“मेरो वडामा धेरै दाजुभाइ भारतबाट फर्किनुभएको छ, उहाँहरुको स्वास्थ्य अवस्था बुझ्न र नयाँ बिरामी भेटिए तत्काल अस्पताल पु¥याउन जनताको घरदैलोमै घुमिरहेको छु”, सुनारले भने, “जुनसुकै बेला पर्न सक्ने अप्ठेरो परिस्थितिलाई ध्यानमा राखेर जनतालाई आवश्यक सजगता र स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गर्दै हिँडिरहेको छु ।”

थप तीन सङ्क्रमितको मृत्यु

बाँकेमा अस्पतालमा उपचाररत थप तीनको कोरोना सङ्क्रमितकोे मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दुई र भेरी अस्पताल नेपालगञ्जमा एक जना गरी तीनको मृत्यु भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

उनका अनुसार नेपालगञ्ज उपमहानगरपालिका–३ बाँके निवासी २६ वर्षीय पुरुष, कोहलपुर नगरपालिका–१ निवासी ६० वर्षीया महिला र तुलसीपुर उपमहानगरपालिका–९ दाङ निवासी ७४ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो । कोहलपुरकी ६० वर्षीया महिलाको स्वास्थ्यमा समस्या आएपछि शिक्षण अस्पताल कोहलपुरमा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएपछि यही वैशाख ११ गते भेरी अस्पतालमा भर्ना गरी उपचार शुरु गरिएको थियो । उनको आज मृत्यु भएको हो । यसैगरी दाङ निवासी ७४ वर्षीया महिलाको वैशाख १२ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पिसिआर परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएपछि भर्ना गरी उपचारका क्रममा आज  मृत्यु भएको कोरोना स्रोत व्यक्ति वलीले बताए ।  

स्वास्थ्यमा समस्या आएपछि आइतबार नेपालगञ्ज मेडिकल कलेजमा परीक्षणका क्रममा कोरोना पुष्टि भएपछि प्रिआइसोलेशनमा भर्ना हुनुभएका नेपालगञ्ज–३ निवासी २६ वर्षीय पुरुषको गए राति मृत्यु भएको थियो । यससँगै बाँकेमा कोभिड उपचारका लागि जिल्ला बाहिरबाट आएका १०६ र बाँके जिल्लाकै ९२ जनाले हालसम्म ज्यान गुमाइसकेका छन् ।

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलवार १४:५६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।