Logo

खेलकुद

बैतडीमा मेयर कप क्रिकेट फागुन २२ गतेदेखि हुने



बैतडी । पाँचौं संस्करणको मेयर कप पुरुष टी–ट्वान्टी क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएको छ । दशरथचन्द नगरपालिका र नगर क्रिकेट समितिको संयुक्त आयोजनामा हुने प्रतियोगिता आगामी फागुन २२ गतेदेखि सञ्चालन हुनेछ ।

प्रतियोगितामा नगरपालिका भित्रका ११ वडाको सहभागिता रहने समितिका संयोजक रमेश भट्टले जानकारी दिए । आईसीसीको नियम अनुसार सञ्चालन हुने प्रतियोगितामा सहभागिता हुन चाहने टोलीले फागुन १८ गतेसम्म दर्ता गराइसक्नुपर्नेछ ।

प्रतियोगिताका विजेता टोलीले ७५ हजार र उपविजेता टोलीले ५० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने जनाइएको छ । नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष मेयर कप क्रिकेट प्रतियोगिता सञ्चालन हुँदै आएको दशरथचन्द नगर प्रमुख नरेन्द्रसिंह थापाले जानकारी दिए ।

प्रतियोगिताले क्रिकेटको विकासका साथै खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ । उपमेयर कप महिला क्रिकेट प्रतियोगिता भने आगामी चैत २ गतेदेखि सञ्चालन हुने समितिले जनाएको छ ।

यसअघि गत वर्ष सम्पन्न चौथो संस्करणको मेयर कपको उपाधि वडा नम्बर–५ दशरथचन्दलाई ४ रनले स्तब्ध पार्दै वडा नम्बर ४ खलङ्गाले हात पारेको थियो । चौथो संस्करणको उपमेयर कप वडा नम्बर २ देहिमाडौंलाई ९ विकेटले हराउँदै वडा नम्बर ६ थालिगडाले जितेको थियो । रासस

प्रकाशित मिति : २७ माघ २०७८, बिहीबार १४:०३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।