डा. श्रेया सुवेदी
अहिले विश्व कारोनाको महामारीका कारण अक्रान्त बनेको छ । मानिस मानिसमा यसको संक्रमणपछि उत्पन्न हुने लक्षण पनि फरक फरक भेटिएको पाइन्छ । ज्वरो, सुख्खा खोकी, थकानजस्ता सामान्य लक्षणदेखि श्वासप्रश्वास प्रणलीका समस्यासम्म यसले निम्त्याएको देखिन्छ । कोरोना भाइरस हावाको माध्यमबाट पनि सजिलै सर्न सक्छ ।
नाक र मुख भाइरस प्रवेश गर्ने सबैभन्दा छिटो र छरितो पोर्टल (माध्यम) नै हो । अहिलेको अवस्थामा कोरोना भाइरसको प्रकोपबाट बच्न मानिसले बेला बेलामा साबुन पानीले हात धुने, मास्क लगाउने लगायतको स्वास्थ्य सुरक्षासंगै दन्त स्वास्थ्य (ओरल हेल्थ) मा पनि उत्तिकै ध्यान दिन महत्वपूर्ण रहेको छ ।
ओरल हेल्थलाई विश्व स्वास्थ्य संगठनद्वारा शारीरिक स्वास्थ्यलाई विशेष सूचकको रुपमा परिचित गराएको छ । रगत सम्बन्धी रोगहरु, मधुमेहजस्ता रोगहरुको लक्षण मुखबाटै देखिन्छ । मानिसको श्वासप्रश्वास प्रणालीमा विभिन्न रोगजन्य जीवाणु रहेका हुन्छन् ।
विभिन्न अनुसन्धानबाट कोरोना भाइरस पनि श्वासप्रश्वास प्रणालीमै विकास हुने देखिएको छ । तसर्थ अहिले कोरोना भाइरसले आक्रान्त बनाइरहेको अवस्थामा दन्त स्वास्थ्यको महत्व र आवश्यकता पनि उत्तिकै बढ्दो रहेको छ ।
विभिन्न अनुसन्धान र अध्ययनबाट मौखिक स्वच्छताका कारण विभिन्न रोगहरुको निवारण हुने पुष्टि पनि भइसकेको छ । तसर्थ अन्य समयभन्दा पनि अहिले महामारीको समयमा दन्त स्वास्थ्यलाई विशेष महत्वका साथ ध्यान दिनु पर्दछ ।
दाँत मुखलाई स्वास्थ्य राख्न दिनको दुई पटक फ्लोराइटयुक्त दन्त मञ्जनले दाँत माझ्ने, धुलोधुवाँमा मास्कको अनिर्वाय प्रयोग गर्ने, यसै पनि अहिले मास्क जाताततै अनिवार्य गरिएकै छ, बाहिरबाट आएपछि हातखुट्टा सफा पारेर बेटाडिन क्लोरहेक्जीगिनले मुख कुल्ला गर्ने र खाना खाएपछि पनि नुनपानीले २ ३ पटक कुल्ला गर्नाले गिजाको स्वास्थ्य समेत राम्रो हुनेछ ।
यस बाहेक गिजामा पिप जम्ने र वुद्धि बंगारा सहन नसक्ने गरी दुख्नेदेखि मुख नै खोल्न समस्या भएमा नजिकको दन्त अस्पतालमा सम्पर्क राख्न उचित हुनेछ ।
(लेखक बिडिएस दन्त चिकित्सक हुन् )




















प्रतिक्रिया