Logo

प्रमुख समाचार

एक कृषि–प्राविधिकको यात्रादृष्टि



जोन डेनियलले मानिसको जराविहीनताको पक्षमा वकालत गरे । अनौठो मानियो, तर मनन गरिएन । उनले मान्छे एकै ठाउँ डेग लागेर बस्ने जातै होइन भने । मुलुक जति नै समृद्ध भए पनि मान्छे हिँडिरहन्छ । कतै साम्राज्यवादका नाममा, कतै व्यापारका नाममा, कतै वैदेशिक रोजगारीका नाममा, कतै पर्यटनका नाममा त कतै वैज्ञानिक अण्वेषणका नाममा मान्छे थलभरि, जलभरि र अकाशभरि बरालिइरहेको छ । लाग्छ, यो सिलसिला अविछिन्न हो, चिरन्तन हो र शाश्वत हो । चरैवेति, चरैवेति मन्छेको प्रवृत्तिको मूलभूत मन्त्र हो ।

चार सयभन्दा बढी पुस्ताकको नीधिसहित उभिएको नेपाली नियात्राले पनि यही सङ्केत गर्छ । तर, जुन गतिमा समय दौडिएको छ र जसरी मौन मौन पाठक पनि भौतिक वा भच्र्युअल रूपमा मूर्त अमूर्त किल्लाहरूमा पुगिरहेका छन्, त्यसले नियात्राकारहरूमाझ ठूला चुनौती खडा गरेको छ । पाठक नपुगेको ठाउँ कम छ, र नबुझेको कुरा पनि थोरै । अध्ययन, देशी–विदेशी यत्रा र पर्यटनको लहरै चलेको बेला धेरैजस्तो कुरा बासी हुने यस्तो स्थितिमा, नियात्रालाई पूर्णतः निजी अनुभूतिबाट आम चासोको तहमा कसरी, र कुन कोणबाट उठाउने भन्ने चुनौती एउटा नियात्रा लेखकका लागि सबैभन्दा ठूलो चुनौती हो सायद । बासी विषय, र गुगलमा पाइने ज्ञानभन्दा पृथक नवीन सौन्दर्य र सूचनासहित नियात्राकृति उभ्याउनु फलामको चिउरा बनेको छ । यस्तो स्थितिमा नियात्रामा हाम्फाल्नु कम आँटिलो विषय चाहिँ कदापि पनि होइन ।

कविका रूपमा पहिचान बनाइसकेकी स्रष्टा भवानी खतिवडाले, सबैको अपेक्षालाई एकातिर मिल्काएर आफ्नो पहिलो कृति नै नियात्राको रूपमा प्रस्तुत गरेकी छिन् । माथि उल्ल्लेखित चुनौतीका बीच यो आँट आफैँमा अभिनन्दनको विषय हो । यसले उनको गद्यले कविताको स्पर्श पाएको छ र भाषाले चुम्बकीय गुण स्थापित गरेको छ । दोस्रो महत्तवपूर्ण कुरा — एउटा निरपेक्ष भावक र संवेदनशील दृश्यप्रेमीको भन्दा अलि पृथक, एक कृषि–प्राविधिकको आँखा पनि छ उहाँसँग । यस्तो अलि पृथक् आँखा हुनासाथ यात्राको वर्णनमा एउटा अतिरिक्त कोण फेला पर्ने रहेछ, र आम पाठकको सामान्य ज्ञान र अनुभवभन्दा पृथक् केही उक्त पुस्तकमा बोनस बनेर आउने रहेछ । शिखा बुक्सबाट प्रकाशित कृति ‘घामभन्दा पहिले’ एक कृषि प्राविधिकका आँखाबाट देखिएको र कविको भाषामा लेखिएको मनमोहक नियात्राकृति हो ।

कृतिमा यात्राका तीन खण्ड छन्— मुक्तिनाथ यात्रा, हलेसी यात्रा र रारा यात्रा । यात्राकै कुरा गरिरहँदा यी क्षेत्र नेपालीहरूले यात्रा गरिरहने र लेखिरहने क्षेत्र हुन् । तर, दृष्टिकोणको पृथकताले परिचितजस्तो लागेको विषय पनि कसरी नवीन बनेर आउँछ, यी यात्रानिबन्धहरूले देखाउँछन् ।

मुस्ताङ–यात्राको वर्णनमा लेखकको ध्यान मुक्तिनाथ दर्शन र स्नानमा भन्दा बढी यात्राका ससाना मोडहरूमा छ । बाटोमा आइपर्ने ससाना सहर र गाउँ र तिनको लघु र अनौपचारिक अर्थतन्त्रमा छ । गाउँसहरको सूक्ष्म यान्त्रिकी र विकासका नवीन रेखाचित्रमा केन्द्रित छ । यात्राकै क्रममा पनि छेवैमा बसेको यात्रुको मनोदशा, ठाउँठाउँ होटल र स–साना व्यवसाय गरेर बसेका व्यापारीहरूको दैनिकी तथा जमिन र कृषि सम्भावनाको जोड — भवानी खतिवडाको लेखनीका धारहरू हुन् ।

हलेसी यात्रको विवरण, हलेसी दर्शनको विवरण मुख्य विषय भइगयो । यसमा कतिपय सहायक भँगाला छन् विवरणका, जसले अति–वर्णित भूगोलमा अनुभूति र सूचनाका नयाँ छटा प्रस्तुत गरेको छ । उदाहरणका लागि— हलेसी दर्शन गर्ने सोच बनाएपछि एकपटक मध्यबाटोमै दुई–दुई पटक समयले कठिन परीक्षा लिएको, र ठूलो साहस, धैर्य र तपस्यापछि मात्रै यो योग जुरेको कुराले जीवन, धैर्य र सहनशीलताको योगको सूक्ष्म ज्ञान पाठकहरूलाई दिन्छ । अर्को, हामी धेरैले बिरलै विचार गरेको एउटा नेपाली राष्ट्रिय चरित्र यहाँ उद्घाटित हुन्छ । सो के भने, मध्यपूर्वको एउटा कोक्रोबाट उठेका इसाई, इस्लाम र यहुदी धर्मले सधैँ एकअर्कालाई निषेध गरेर अगाडि बढे । तर, नेपाली कोक्रोबाट उठेका हिन्दू, बौद्ध र किराँत धर्मले एकअर्कालाई अँगालो हालेर अगाडि बढे, एक अर्काका देवीदेउता साटेर अगाडि बढे । यसको एउटा उत्कृष्ट उदाहरण हलेसी महादेव मन्दिरमा छ । लेखिका लेख्छिन्— ‘हिन्दूहरूले यो धामलाई पूर्वको पशुपति मान्दछन् । बौद्धमार्गीहरू बौद्धगुरु पद्मसम्भवले तपस्या गरी सिद्धि प्राप्त गरेको पवित्र भूमि (मरातिका गुफा) र दोस्रो लुम्बिनीको रूपमा पनि मान्ने गर्छन् । किराँत धर्मावलम्बीले आफ्नो आदिमभूमिको रूपमा पुज्ने गर्छन् । यसरी हलेसीधामलाई हिन्दू, बौद्ध र किराँत तीनवटै धर्मको त्रिवेणीधाम मानेर पूजा गर्ने गरिन्छ ।’ (पृ. ४५)

पुस्तकको अन्तिम खण्ड, रारा–यात्राको खण्ड हो, र संभवतः सबैभन्दा रोचक खण्ड हो । कर्णालीको भौगोलिक सौन्दर्य र राराको भव्यता त यस खण्डको प्राणमा छँदैछ, तर यस खण्डमा टिपिएका सूक्ष्म अनुभूति र पृथक् दृष्टिमा यस खण्डको विशिष्टता खोजिनुपर्छ । उदाहरणका लागि, ‘समान्य’ मानिएको कुनै कर्मचारीमा कसरी असमान्य मानवीयता फेला पर्छ, नेपालगञ्जमा भेटिएका गनु यादवको व्यवहारमा पढ्न पाइन्छ । त्यसै गरी, जिप चालक रामु चौधरी र शिउप्रसाद चौधरीमा ‘सामान्य’ मानिएका मान्छेमा हामीले बिरलै कल्पना गरेको धीरता, सुझबुझ र सहिष्णुताको प्रतिनिधित्व कसरी गर्छन्, त्यो पढ्न पाइन्छ । यसरी, निजामति क्षेत्रमा उच्चपदस्थ अधिकारीले आम मान्छेमा यसरी नायकत्व भेट्टाउनु उनको दृष्टि–सूक्ष्मता र पृथक् बुझाइ हो । सामान्य मान्छेको वकालत गर्ने हामीजस्तो पाठकका लागि यो ज्यादै आह्लादको विषय हो ।

बुलबुले भनिएका तालको सौन्दर्य धेरैले लेख्छन्, तर त्यस ताललाई अस्तित्वमा ल्याउने बुलबुलाहरूको क्रमिक अवसान लेख्न फरक दृष्टि चाहिन्छ, जो भवानी खतिवडामा छ । यो एक सूक्ष्म वातावरणीय चेत हो र समकालीन समयको एउटा ज्वलन्त मुद्दा पनि । भनिएकै छ— ‘यति सुन्दर प्राकतिक सम्पदाका स्वत्व नै हाम्रा महात्त्वाकांक्षी र अविवेकी व्यवहारका कारण लुप्तप्रायः हुँदै गएछन् । यस्ता अमूल्य सम्पदाको उचित स्याहार र संरक्षण गर्न सकेका छैनौँ हामीले । माल प्रशस्त पाएर पनि चाल पाउन कहिल्यै सकेनौँ ।’ (पृ. ६०)

क्राँक्रेविहारसँग जोडिएका किंवदन्ती र लोकोक्ति, साली–भेनाको कथा, लाटीकोइलीको उत्पत्ति कथा, मसान जगाएर तिनै मसानको सहयोगमा विशन ढुङ्गा भेला पारेर बनाइएको भनिएको बिहारको उत्पतिकथा — सम्पदाको लोकव्याख्या हुन्, जो भवानीको नियात्रामा यथेष्ठ पढ्न पाइन्छ, र देखिएको यथार्थलाई हाम्रो सामूहिक अवचेतनसँग जोडेर बुझ्न पाइन्छ ।

दैलेखको शिवज्वाला बारे नियात्राकार भवानी खतिवडाको कवितामय विवरण मनै लोभ्याउने खालको छ । लेख्छिन्ः ‘नदी किनारमा पानी बगिरहेको छ र, पानी बगेकै ठाउँमा बनाइएको छ सानो खोपे मन्दिर । त्यसैमा पानीभित्रैबाट निस्किएको छ नीलो रङको आगोको ज्वाला । साँच्चिकै अद्भुत लीला छ प्रकृतिको जहाँ आगोमा पानी छ र पानीमा आगो । न आगोलाई पानीको डर छ न पानीलाई आगोको नै डर छ । पानी न्यानो आगो तापेर बगिरहेको छ । पानीलाई आगोको रापले न्यानो माया गरिरहेको छ । आगोको राप र तापलाई पानीले शीतलता प्रदान गरिरहेको छ । आ–आफ्नो कर्तव्यपथमा डटिरहेका छन् — दुवै ।’ (पृष्ट ८४)
दही नबग्ने दहीखोलाको विवरण, २७ वर्षमा चार सन्तान जन्माएकी लक्ष्मी मगरको कारूणिक दृश्यविम्ब, जर्जर भूमिका सदरमुकाम बनाउने र मलिलो ठाउँमा बाली लगाउने कालीकोटवासीको सुझबुझ, अज्ञात स्रोतबाट आएको पानीले टिलपिल राराको रहस्य — यी अपरम्परित दृष्टि पाठकका मनप्रिय हुन सक्छन् । ‘रारासँग मनका कुरा’ शीर्षकको भाव–उदात्तता र वर्णन–विलक्षणताले त सास रोक्ने ठाउँ पनि दिँदैन । भनिएको छ— ‘तुसारोमय ताल आँखैअगाडि पानी पानीमय बन्यो । जादूमय शैलीमा टिल्पिलाएको कञ्चन सोतो रङको पानी पलभरमै गाढा नीलो रङमा परिणत भयो । मानौँ सृष्टिकर्ताले भर्खर मात्रै मसी खन्याइदिए र रारालाई यो रूपमा परिणत गराइदिए ।’ (पृ ११७)

पुस्तकको अन्तिम पाठ ‘नर्क–कुण्डको ढोकैबाट’ यात्राको पृष्ठभूमिमा उभ्याइएको एउटा आत्मपरक निबन्धजस्तो छ । सुर्खेतबाट काठमाडौँसम्मको यात्रामा, बसमा भेटिएकी एक अबला आमाको मनोदशामा यो सम्पूर्ण निबन्ध केन्द्रित छ । छोरीलाई तस्करहरूले अपरहरण गरी भारततिर कटाउन लाग्दा माइती नेपालले उनको उद्धार गरेर विराटनगरमा राखेको खबर पाएपछि छोरी लिन हिँडेकी ती आमाको दारूण अवस्था, र नियात्राकारको सहयोग, मातृवत् समरसता र त्याग यस निबन्धको मूल पाठ हो । यसै निबन्धको पटाक्षेपसँगै लेखकको काठमाडौँ आगमन यस पुस्तकको पनि समापन हो ।

यी लक्षणका आधारमा यस नियात्रासङ्ग्रहले देखिएको भूगोलको चित्रणसँगै मनको भूगोलभित्र पनि विचरण गरेको छ । भूगोलभरि छरिएको संस्कृतिको अमूर्त र लोक–अवचेतन र किंवदन्तीको पक्ष पनि बोकेको छ । सूक्ष्म अर्थतन्त्र र यान्त्रिकी, वातारवरणीय चेत, प्रशासनिक टिप्पणी र कृषिपक्ष यस पुस्तकका अतिरिक्ति स्वादहरू हुन् । अत्यन्त प्राञ्जल र कवितात्मक भाषामा बुनिएको यो पुस्तक निबन्ध हुनुको प्राविधिकताबाट सर्वथा मुक्त छ । यात्रा विवरणकै क्रममा झुल्कने सूक्तिहरू पनि यी निबन्धलाई प्रेरक बनाएका छन् । जस्तैः

१. सौन्दर्य पनि सजिलो ठाउँमा नफल्ने रहेछ क्यारे । (पृ. २१)
२. मलाई सबथोक खपेर अघि बढ्ने आँट देऊ । (पृ. ४८)
३. क्षणिक लाभका लागि भुइँको एक मुठी उठाउन खोज्दा आफ्नो पोल्टाभरिको हीरा पोखिएर खेर गएको पटक्कै हेक्का छैन हामीलाई । (६०)
४. अघाएका एउटा राजा बर्खास्त भए । सयौँ भोका राजा सिंहासनमा चढे । (पृ. ९९) आदि ।

पहिलो पुस्तकमै यात्राको सूक्ष्मदर्शनसँगै संवेदना र जीवन मिसाएर यो तहको परिपक्वता दिने भवानी खतिवडाको साहित्यिक भविष्य अत्यन्तै उज्ज्वल देखिन्छ । वर्षभरि आएका नियात्राकृतिमा उपल्लो स्थान ओगट्ने ल्याकत बोकेको यस कृतिमा प्रश्न उठाउनुपर्ने केही ठाउँ भने अवश्य छन् । ‘नियात्रा–क्रम’ भनिएको पानामा ‘मुस्ताङसितको भेट’ र ‘मेरो भन्नु यति मात्रै हो’ भन्ने दुई शीर्षक पनि सूचीकृत छन्, तर भित्र खोज्दा यी शीर्षक कतै पनि भेटिँदैनन् । कतै ‘वेनीबजार’ लेखिएको छ, कतै ‘बेनीबजार’ । कतै ‘कुतुवमिनार’ र कतै ‘कुतुबमीनार’ । पृष्ठ ७६ मा कर्णाली क्षेत्रको सौन्दर्यबाट कति रमाउथे होला कविहरू भनेर कतिपय कविहरूको नाउँ लिइएको छ । तर सबै छन्द कवि — मानौँ गद्य कविलाई प्रकृतिको सौन्दर्यले छुँदै छुँदैन । आफू पनि छन्द कवि हुनुको कोणबाट दिइएको यो अभिव्यक्ति सर्वथा एकाङ्गी छ । एउटा सल्लाह — यात्राका लागि छानिएका गन्तव्यहरू —मुक्तिनाथ, हलेसी र राराताल — ती स्थान हुन्, जो चर्चामा आइरहन्छन्, र हजारौँका रोजाइ बनिरहन्छन् । भनौँ, त्यस्ता तीर्थ वा पर्यटकीय स्थलसँग सम्बन्धित धेरथोर कुरा जनमानसको ज्ञान र अनुभवमा आइसके । ती कुराको विवरण नियात्रामा पनि आउने नै भयो । यस्तोमा सधैँ पृथकता खोज्न पनि सहज नहोला । आखिर समान्य मानिएका, र धेरैले उपेक्षाका दृष्टिले हेर्ने गरेका ठाउँबाट पनि आफ्ना काव्यिक र सूक्ष्मदर्शी आँखाले मोती टिप्न सक्ने ल्याकत भवानी खतिवडामा छँदैछ । त्यसैले एकपल्ट लेखकीय लेन्स त्यतातिर पनि घुमाइदिने हो कि ? किताब छपाइ र कटाइमा देखिएको ‘हेल्चेक्र्याइँ’ का बारेमा त प्रकाशक वा मुद्रक नै बोल्लान् । त्यसमा लेखकको दोष हुँदैन ।

पुस्तकको अपार सफलताको कामना गर्दछु ।

प्रकाशित मिति : १० फाल्गुन २०७८, मंगलवार १२:११   :  बजे

540
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।