टीकापुर,कोरोना महामारी फैलिएपछि सुत्केरी व्यथा लागेका महिलालाई सेवा पाउन सकस भएको छ । कैलालीको टीकापुर अस्पतालमा आइसियु सेवा सञ्चालन हुन नसकेका कारण आइसियु आवश्यक पर्ने आमा र बच्चालाई उपचार पाउन सकस भएको हो ।
गत बुधबार टीकापुर–१ की ललिता जैसी व्यथाले च्यापेपछि टीकापुर अस्पतालमाआइन । अस्पतालले उनको स्वास्थ्य परीक्षण गरेपछि बच्चा सानो भएकाले आइसियु आवश्यक पर्नसक्ने भन्दै नेपालगञ्ज रेफर गर्यो । व्यथा लागेकी महिला बोकेर परिवारका आफन्त नेपालगञ्ज पुगे तर ललिताले नेपालगञ्ज भर्ना पाइनन् । दिनभर नेपालगञ्न नर्सिङ होम बाहिर कुरे पनि भर्ना पाइएन ।
‘‘अस्पतालले कोरोना परीक्षण गर्नुपर्ने भन्यो, कोरोनाको रिपोर्ट आउन गर्भवती भए पनि कम्तीमा २४ घण्टा लाग्ने बतायो’’, सुत्केरी ललिताले भने, ‘‘व्यथाले थलिएकी म बाहिर राखेर कसरी कुर्नु रु मसँग गएका आफन्तले मलाई फेरि टीकापुर फर्काए, मैले त अब बाच्दिन भन्ने मात्र सोचिरहेँ ।’
टीकापुर फर्केर परिवारका सदस्यले फेरि टीकापुर अस्पतालमै ल्याए । टीकापुर अस्पतालका स्त्रीरोग विशेषज्ञ गौरी रिजालको टिमले शल्यक्रिया गरि बच्चा निकाल्योे । ‘‘डाक्टर रिजालले हिम्मत गरेका कारण धन्न बच्चा र आमालाई ठीक छ । आइसियु आवश्यक परेन’’, सुत्केरीका एकजना आफन्तले भने, ‘‘आइसियुमा राख्नुपर्ने अवस्था आएको भए हामी के गथ्र्यौं रु टीकापुरमै यी सबै सुविधा भए सुत्केरीलाई राहत हुन्थ्यो ।’’
ललिताको जस्तो कठिनाई यहाँ दैनिकजसो कुनै न कुनै सुत्केरी व्यथा लागेका वा सुत्केरीपछि स्वास्थ्यमा समस्या भएका महिलाले भोगिरहेका छन् । जानकी गाउँपालिकाकै एक सुत्केरी व्यथा लागेकी महिलालाई उच्च रक्तचापको समस्या भएकाले स्वास्थ्य संस्थाले उहाँलाई पनि नेपालगञ्ज पठायो । उनका आफन्तले कोहलपुर मेडिकल कलेज लगे । त्यहाँ कोरोना संक्रमितको मात्र उपचार हुने भनेपछि उनीहरुले नेपालगञ्ज लगे । ति महिला र तिनका आफन्तले पनि ललिताको जस्तै नियती भोगे ।
सुत्केरीलाई भर्ना लिन नमानेपछि उनीहरु पनि यहीँ फर्किए । टीकापुर फर्केर मरे मरौँला, बाँचे बाचौँला भन्दै यही सेवा लिएँ । ‘‘यहाँ जोखिम हुनसक्छ भन्दै डाक्टरले बाहिर पठाए, हामी पनि आत्तिएर गयौँ तर दुःख मात्रै भयो’’, पाँच दिनकी सुत्केरी महिलाले भने, ‘‘सरकार छ, सुविधा छ तर अझैँ अर्को ज्यान जन्माउने महिला जोखिममै छन् । हाम्रा लागि आवश्यक सबै सुविधाको व्यवस्था गर्नु पहिलो प्राथमिकता हो भनेर बुझेको देखिएन ।’’
टीकापुरको बनगाउँकी रामुकमारी चौधरीलाई सुत्केरी व्यथा लाग्यो । आफन्तले शहरमा भन्दा गाउँमा कोरोना सङ्क्रमणको जोखिम कम हुन्छ भन्दै शुरुमा रामकुमारीलाई धनसिंहपुर स्वास्थ्य चौकीमा लगे । धनसिंहपुर स्वास्थ्य चौकीले त्यहाँ नसकिने भन्दै उनलाई टीकापुर अस्पताल रेफर गर्यो ।
टीकापुर अस्पतालमा वैशाख २५ गते उनी सुत्केरी भईन् तर रामकुमारी र उनको परिवारलाई अस्पतालमा कोरोना सङ्क्रमित बिरामीको भीड देखेर तनाब भने भइरह्यो । ‘‘अस्पतालमा बिरामी बढी हुने भएकाले कतै जोखिम हुन्छ कि भन्ने डर थियो । अझ शल्यक्रिया गर्नुपरे केही दिन बस्नुपर्छ भन्ने तनाब त्यत्तिकै थियो’’, रामकुमारीका श्रीमान् राजेश चौधरीले भने, ‘‘श्रीमतीले सामान्य अवस्थामै बच्चा जन्माइन, अस्पतालमा डाक्टरहरुले राम्रो स्याहार गरे, श्रीमती घर ल्याइसकेको छु । यस्तो महामारी फैलिएका बेला अस्पताल जान डर लाग्ने रहेछ ।’’
टीकापुर– ७ सत्तीकी विना चौधरीलाई पनि सुत्केरी व्यथा लागेपछि टीकापुर अस्पतालमा शल्यक्रिया सहित चिकित्सकको सेवा पाइने आशै भएन् । वैशाख १८ गते नै व्यथा लागेको भए पनि कोरोना सङ्क्रमणको त्रासले विना रातिमात्रै नारायणपुर स्वास्थ्य चौकीमा गईन् । ‘‘कोरोना सङ्क्रमणको त्रासले कम जोखिम हुनसक्छ भनेर म नजिकैको स्वास्थ्य संस्थामा गए’’, विनाले भनिन् , ‘‘धन्न सामान्य अवस्थामै बच्चा जन्मियो, स्वास्थ्य चौकीबाट घर नआउँदासम्म निकै डर लागिरहेको थियो । यस्तो माहोलमा सुत्केरी हुनु पनि जोखिम नै हो ।’’
टीकापुर अस्पतालले प्रसुती सेवा सञ्चालनमा समस्या नआओस् भनी स्त्री रोग विशेषज्ञ र केही नर्सहरुलाई प्रसुतीमा मात्रै खटाएको छ । कोरोना महामारीका कारण यतिखेर अस्पतालमा जनशक्ति अभाव छ तर पनि प्रसुती सेवामा आउने महिलालाई संक्रमण नहोस् भनी केही नर्स र चिकित्सकलाई प्रसुती वार्डमै खटाएको स्त्री रोग विशेषज्ञ गौरी रिजाल बताछिन् ।
‘‘स्थिति निकै दयनीय भएको छ । हामीले प्रसुती सेवा दिइरहेका छौँ’’, डाक्टर रिजाल भन्नुहुन्छ, ‘‘अस्पतालमा अक्सिजन अभाव छ । अक्सिजन सुत्केरी वार्डमा पनि आवश्यक पर्छ । कतिपय भेण्टिलेटरमा राख्नुपर्ने पनि हुन्छन् । यहाँ भेण्टिलेर जडान गरिएको भए पनि एनेस्थेसिया डाक्टर नभएकाले आइसियु सेवा दिन सकिएको छैन । त्यस्ता विरामी रेफर गर्नुपर्छ ।’’
स्त्री रोग विशेषज्ञ रिजालले गर्भवती तथा सुत्केरी महिलालाई जटिलता भए ढुक्कले अस्पताल आउन आग्रह गरेका छन् । ‘‘गर्भवती महिलाले टाउको दुखेमा, आँखा धमिलो देखेमा, ज्वरो आएमा, बारम्बार बान्ता भएमा, बच्चा कम चल्यो वा बढी चलेमा, हात खुट्टा सुन्निएमा, रक्तचाप बढेमा तुरुन्त अस्पताल आउनुपर्छ’’, उनी भन्छिन् , ‘‘सुत्केरी तथा गर्भवती सम्वेदनशील अवस्था भएकाले महिलालाई आत्मीय सहयोग चाहिन्छ । अझ सामािजक वातावरण राम्रो चाहिन्छ । सुत्केरीलाई शारीरिक र मानसिक स्याहार गर्न परिवारका सदस्य सहयोगी बन्नुपर्छ ।’’
टीकापुर अस्पतालमा कोइकाको सहयोगमा सुविधासम्पन्न प्रसुती वार्ड निर्माण गरिएको छ । यहाँ शल्यक्रिया सेवा, चिकित्सकको सुविधा सबै छ तर आइसियु सेवा सुचारुका लागि एनेस्थेसिया डाक्टर नभएका कारण त्यो सेवा सुत्केरीले पाउन सकेका छैनन् ।




















प्रतिक्रिया