खोटाङ । खोटाङमा दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता सुरु भएको छ । खोटाङ फुटबल एकेडेमीको आयोजनामा दिक्तेलमा आगामी १८ चैतसम्म सञ्चालन हुने प्रतियोगिता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गरेका छन् । दिक्तेलको माटिकोरेमा दिक्तेल रंगशाला शिलान्यास लगत्तै दिक्तेल मेयर कप तेस्रो केएफए क्लब स्तरीय फुटबल प्रतियोगिता उद्घाटन गरिएको हो ।
‘स्थानीय खेलाडी र क्लबको पहिचान, खोटाङ एकेडेमीको अभियान’ भन्ने नारासहित सुरु भएको प्रतियोगितामा जिल्लाका १६ टिमको प्रतिस्पर्धा हुने प्रतियोगीताका इभेन्ट मेनेजर प्रशिक्षक रोशेस श्रेष्ठले बताए । डिफेन्डिङ च्याम्पियन युवा जागरण स्पोर्ट्स क्लब र बुइपा ११ बिच भएको उद्घाटन खेलमा युवा जागरण स्पोर्ट्स क्लब विजयी भएको छ । युवा जागरणले २ गोल गर्दा बुइपा ११ ले कुनै पनि गोल गर्न सकेन । उद्घाटनकै अवसरमा नगरपालिका र निर्माण व्यवसायी बिचमा मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो ।
स्थानीय फुटबल टिम र खेलाडीको प्रवर्द्धनका लागि आयोजना गरिएको प्रतियोगीताका विजेताले १ लाख २५ हजार, उपविजेताले ६५ हजार र सेमीफाइनलिष्टले २०/२० हजारका साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, उत्कृष्ट गोल रक्षक, डिफेण्डर, मिड फिल्डर, गोलकर्ता र कोचलाई जनही ५ हजार नगद, ट्रफि, मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई ७ हजार नगदका साथमा ट्रफि, मेडल, प्रमाण–पत्र तथा म्यानअफ द म्याचलाई नगद एक हजारका साथमा मेडल प्रदान गरिने प्रतियोगीताका संयोजक श्यामकुमार पौडेलले बताए ।
प्रि–क्वाटरफाइनलमा विजयी हुने टिमलाई दुई हजार, क्वाटरफाइनल जित्नेलाई तीन हजार, सेमिफाइनल जित्नेलाई ३ हजार पाँच सय र फाइनल जित्नेलाई थप चार हजार प्रोत्साहन रकम प्रदान गरिने छ । नगरपालिका मुख्य प्रायोजक रहेको जिल्ला खेलकुद विकास समितिमा दर्ता भएका आधिकारिक टिमलाई मात्र प्रतियोगितामा सहभागी गराइएको छ । एकेडेमीले २०७४ साल र २०७७ सालमा फुटबल प्रतियोगिता सञ्चालन गरेको थियो ।




















प्रतिक्रिया