पोखरा : कोरोनाको दोस्रो लहर सुरु भएसँगै सरकारी अस्पतालमा कोरोना सङ्क्रमितको चाप ह्वात्तै बढ्यो । धेरैको रोजाइ पर्ने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) मा इमर्जेन्सीमै राखेर कोरोना सङ्क्रमितको उपचार गरिएको थियो । अस्पतालले मेडिकल वार्डलाई यसअघि नै अक्सिजनसहितको आइसोलेसन वार्डमा विकास गरिसकेको छ । अस्पतालमा सङ्क्रमितको उपचारका लागि हाल ८० बेड आइसोलेसन छ ।
यसैबिच, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आपत्कालीन तथा विपत व्यवस्थापन समितिले आइतबार अस्पताललाई पूर्ण रुपमा कोभिड १९ का सङ्क्रमित हेर्ने गरी व्यवस्था मिलाउन परिपत्र गर्यो । पत्र अनुसार नै यस क्षेत्रमा सरकारीतर्फ सबैभन्दा ठुलो अस्पतालमा अब कोरोना सङ्क्रमितको मात्रै उपचार हुने भएको छ ।
गत ५ वैशाखमा बसेको गण्डकी प्रदेश मन्त्रिपरिषद् बैठकले सो अस्पताललाई कोरोना सङ्क्रमितको मात्रै उपचार गराउने अस्पताल बनाउन केन्द्र सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । सोही अनुरूप नेपाल सरकार सचिव स्तरको आइतबारको बैठकले क्षेत्रीय अस्पतालमा कोरोना सङ्क्रमितको मात्रै उपचार गर्ने निर्णय गरेको थियो ।
यसैबिच, सङ्क्रमितको उपचारमा आवश्यक प्रक्रिया पूरा गर्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले अस्पतालमा मङ्गलवार देखी ओपिडी सेवा बन्द गर्दै छ । अस्पतालमा कुल ३ सय ५० बेड छन् ।
प्रतिष्ठानका तर्फबाट निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले सोमबार विज्ञप्ति जारी गर्दै अर्को सूचना वा आदेश नभएसम्म कोभिड १९ बाहेकका अन्य ओपिडी बन्द भएको जनाइएको छ ।
गम्भीर प्रकृतिका बिरामीको उपचारका लागि अस्पतालको इमर्जेन्सी सेवा भने यावत रहने छ । मिर्गौलाका बिरामीका लागि डायलिसिस पनि निरन्तर रहने निर्देशक डा. खत्रीले जानकारी दिए । ‘सबै बेडमा अक्सिजन पुर्याउन गाह्रो छ,’ उनले भने, ‘सिलिन्डरले जति भ्याउँछ, त्यति गर्दै व्यवस्थापन गर्दै जान्छौँ ।’




















प्रतिक्रिया