Logo

खेलकुद

वेस्टर्न अ‍ोपनमा एमेच्योर सुभाषको अग्रता कायमै



काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गत सिजनको पाँचौं इभेन्ट सुर्य नेपाल वेस्टर्न अ‍ोपनको दोस्रो दिन १३अ‍ौं सागको दोहोरो स्वर्ण विजेता एमेच्योर सुभाष तामाङले अग्रता कायम राखेका छन् ‌।

हिमालयन गल्फ कोर्स, पोखरामा पहिलो दिन २ अन्डर ६६ स्कोर जोडेका सुभाषले दोस्रो दिन १ ओभर ६९ स्कोरसाथ समग्रमा १ अन्डर १ सय ३५ स्कोर बनाए । उनले दोस्रो स्थानमा रहेका जयराम श्रेष्ठलाई १ स्ट्रोकले पछि पारेका छन् । जयरामले लगातार दोस्रो दिन इभन पार ६८ स्कोर बनाए ।

तेस्रो स्थानका धनबहादुर थापाले दोस्रो दिन १ ओभर ६९ स्कोर जोड्दै समग्रमा ४ ओभर १ सय ४० स्कोर जोडे । संजय लामा (६८) र नीरज तामाङ (७०) समान ५ ओभर १ सय ४१ स्कोरसाथ संयुक्त चौथो स्थानमा छन् । भुवन नगरकोटी (७०) र स्थानीय एमेच्योर अजित विक ६ ओभर १ सय ४२ स्कोरका साथ संयुक्त छैटौं स्थानमा छन् ।

सुभाषले फ्रन्ट नाइनमा २ ओभर ३५ तथा ब्याक नाइनमा १ अन्डर ३४ स्कोर जोडे । उनले सुरुवाती दुई होलमा बर्डी लेखाए पनि तेस्रो होलमा डबल बोगी खेपे । नवौं होलमा डबल बोगी खेपेका उनले दशौं, १३ औं र १७ औं होलमा बर्डी लेखाए । उनले १२ औं र १८ औं होलमा बोगी खेपेका थिए ।

प्रोफेसनल गल्फर्स संघ नेपालको आयोजना र सुर्य नेपाल प्रालिको प्रायोजनमा हुने प्रतियोगिता ३० मार्चदेखि १ अप्रिलसम्म हुनेछ । ५४ होलको प्रतियोगितामा ३० व्यावसायिक र १५ एमेच्योर खेलाडीको सहभागिता रहनेछ । इभेन्टको अन्तिम दिन २ अप्रिल शनिबार प्रोएम इभेन्ट हुनेछ । नेपालभरका व्यावसायिक गल्फरले मनमोहक दृश्यसहितको गल्फ कोर्समा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको कुल पुरस्कार रकम ७ लाख ७५ हजार रुपैयाँ रहेको छ । विजेताले १ लाख ३५ हजार, उपविजेताले ८८ हजार तथा तेस्रो स्थान हासिल गर्नेले ६५ हजार प्राप्त गर्नेछन् । शीर्ष २१ व्यावसायिक खेलाडीले नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : १८ चैत्र २०७८, शुक्रबार १८:२६   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।