Logo

स्वास्थ्य

उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या



दमौली : सदरमुकामस्थित दमौली अस्पतालमा रहेको मिर्गौला उपचार केन्द्रमा रगत अभाव हुँदा मिर्गौला पीडितलाई डायलासिसका लागि समस्या भएको छ । कोरोना कहर र निषेधाज्ञाका कारण जिल्लामा रक्तदानका कार्यक्रम नहुँदा रगत अभाव भएकाले डायलासिस गर्नुपर्ने मिर्गौला पीडित मारमा परेका हुन् । 

नियमितरूपमा डायलासिस गराउँदै आएका मिर्गौैला पीडित रगत खोज्न आफै हिँड्नुपर्ने अवस्था आएको छ । मिर्गौला उपचार केन्द्रका इन्चार्ज शैलेन्द्र पण्डितले निषेधाज्ञाका कारण रक्तदान नहुँदा उपचार केन्द्रमा रगत अभाव भएको जानकारी दिएका छन् । “पहिला पहिला नियमित रक्तदान हुँदा समस्या हुन्थेन, अहिले रगत अभाव भएपछि समस्या भएको छ”, उनले भने, “मिर्गौला पीडित आफैँले रगत खोज्नुपर्ने अवस्था आएको छ ।”

कतिपय मिर्गौला पीडितले पोखरासम्म पुगेर रगत ल्याउने गरेका छन् भने कतिपयले आफन्त वा चिनेजानेका व्यक्तिलाई रक्तदानका लागि ल्याउने गरेका छन् । “दमौलीमै भएका आफन्त वा साथीभाई आएर पनि रक्तदान गरिदिनुहुन्छ, कोही नपाएको खण्डमा भने पोखरा पुगेरै रगत ल्याउनुपर्ने बाध्यता छ”, उनले भने । 

व्यास नगरपालिका–४ का अब्दुल गफ्फार मियाँले रगत अभाव हुँदा आफूहरुलाई समस्या परेको बताएका छन् । “निषेधाज्ञा अगाडि त समस्या थिएन, तर अहिले निषेधाज्ञा भएपछि समस्या पर्यो”, उनले भने । 

केन्द्रमा हाल दैनिक ६३ जनाले डायलासिस गराइरहेका छन् । विसं २०७२ साल मङ्सिर ३ गते देशभरका जिल्ला अस्पतालमध्ये दमौली अस्पतालमा पहिलो पटक डायलासिस केन्द्र स्थापना भएको थियो । केन्द्रले हालसम्म २५ हजारभन्दा बढी पटक डायलासिस सेवा प्रदान गरेको छ । केन्द्रमा नौ वटा डायलासिस गराउने उपकरण रहेको छ । 

प्रकाशित मिति : १९ जेष्ठ २०७८, बुधबार ११:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।