Logo

सभापति देउवाद्वारा प्रजातन्त्र सेनानी श्रेष्ठको निधनप्रति दुःख व्यक्त



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकको प्रजातान्त्रिक आन्दोलनका योद्धा, पार्टीका ज्येष्ठ राजनीतिज्ञ सभाका सदस्य एवं प्रजातन्त्र सेनानी महेश्वरलाल श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । उनको आज बिहान काठमाडौँको ओम अस्पतालमा उपचारका क्रममा ८४ वर्षको उमेरमा निधन भएको हो ।

सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याएको  सक्रिय योगदान सदा स्मरणीय रहने उल्लेख गर्दै उनीप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण र शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

नेपाली कांग्रेस चितवनका सल्लाहकार समितिका संयोजकसमेत रहनुभएका स्व श्रेष्ठ कांग्रेसमा एक सरल र निष्ठावान् नेताका रुपमा चिनिनुहुन्थ्यो । कांग्रेसका संस्थापक नेता विपी कोइराला, सुवर्ण शम्शेर, गणेशमान सिंहलगायत शीर्ष नेतासँगको सहयात्रीका रुपमा रहेर श्रेष्ठले प्रजातन्त्र प्राप्तिका लागि भएका सङ्घर्ष र आन्दोलनमा सक्रिय योगदान पुर्याएका थिए ।

यसै क्रममा तत्कालीन पञ्चायती व्यवस्थाले उनको सम्पत्तिसमेत सर्वस्वहरण गरेको थियो र लामो समयसम्म प्रवासमा बस्नुका साथै जेल जीवनसमेत व्यतीत गरेको कांग्रेसले जनाएको छ । उनको निधनबाट कांग्रेसले एक अग्रज र अनुभवी नेतालाई गुमाएको उल्लेख गरेको छ ।

प्रकाशित मिति : २२ जेष्ठ २०७८, शनिबार १७:१७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।